+
+
Shares

रुपन्देहीका निर्माण व्यवसायीले भने : खुट्टा भाँचेर सडक बन्दैन  

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते २२:०६

३ असार, बुटवल ।  भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री सुनिल लम्सालले ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भनी दिएको सार्वजनिक अभिव्यक्तिप्रति लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले आपत्ति जनाएको छ ।

संघले बुटवलमा पत्रकार सम्मेलन गर्दै उक्त अभिव्यक्तिले निर्माण व्यवसायीहरूको मानमर्दनसंगै आक्रोशित, दु:खी तथा असुरक्षित महसुस गराएको स्पष्ट पारेको छ ।

संघका कार्यवाहक अध्यक्ष रमेश बेलबासेले जिम्मेवार पदमा रहेका मन्त्रीबाट आएको यस्तो अभिव्यक्तिले सम्पूर्ण निर्माण व्यवसायीको मानमर्दन गर्नुका साथै व्यवसायीहरूको सुरक्षामाथि प्रश्न चिन्ह खडा गरेको बताए ।

कार्यवाहक अध्यक्ष बेलबासेले निर्माण क्षेत्रका समस्या समाधान संवाद, सहकार्य र नीतिगत सुधारमार्फत हुनुपर्ने उल्लेख गर्दै मन्त्रीको अभिव्यक्तिप्रति खेद प्रकट गरे । विकास आयोजनाहरूका लागि नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा, माटो) नपाएर बाहिरी जिल्लामा पुगेर महँगो मूल्य तिरेर ल्याउनुपर्ने अवस्था रहेको उनले  गुनासो गरे ।

‘मन्त्रीले खुट्टा भाँच्दैमा देशका सडक र विकास निर्माणका काम पूरा हुँदैनन्, समस्या समाधानका लागि सम्मानजनक व्यवहार र व्यवहारिक पहल आवश्यक छ,’ उनले भने, ‘निर्माण व्यवसायीको मनोबल गिराउने र आतंकित बनाउने अभिव्यक्ति दिनु भन्दा निर्माण क्षेत्रका विद्यमान समस्या समाधानमा ध्यान दिन हाम्रो आग्रह छ ।’

विकास आयोजनाको मूल्य समायोजन गर्दै म्याद थप, काम सकेर भुक्तानी नपाएका आयोजनको छिटो भुक्तानी गर्न उनले माग गरे । अहिले निर्माण क्षेत्र मूल्यवृद्धि, बैंक ब्याजदर, श्रमिक अभाव, सरकारी भुक्तानीमा ढिलाइ लगायतका गम्भीर समस्याबाट गुज्रिरहेको हुंदा सरकारले  तत्काल समस्या समाधान गर्नुपर्ने माग गरे ।

‘इन्धनमा दोब्बर मूल्यबृद्धि, बिटुमिन जस्ता अत्यावश्यक निर्माण सामग्रीको अभावले मारमा परेका व्यवसायीमाथि  मन्त्रीले खुट्टा भाँच्नुपर्छ भन्ने अभिव्यक्तिले निर्माण क्षेत्र त्रसित र आतंकित बन्न पुग्यो’, बेल्बासेले भने, ‘व्यवसायीहरू चरम आर्थिक तथा मानसिक दबाबमा परेका बेला भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालबाट व्यवसायीलाई धम्काउने अभिव्यक्ति आउनु दु:खद् र खेदजनक छ ।’

संघका सल्लाहकार जवीन कक्षपतीले  निर्माण सामग्रीको मूल्यवृद्धि, नदीजन्य पदार्थको अभाव, बैंकिङ ब्याजदर, श्रमिक अभाव, इन्धनको मूल्य बृद्धि, सरकारी निकायबाट समयमै भुक्तानी नहुनु तथा मूल्य समायोजन नहुनु जस्ता समस्याले निर्माण व्यवसायीहरू संकटमा परेको अवस्थामा मन्त्री लम्सालले व्यवसायीको मनोबल गिराउने अभिव्यक्ति दिनु न्यायोचित नएको बताए ।

‘निर्माण क्षेत्रका वास्तविक समस्याको समाधान खोज्नुको सट्टा मन्त्री लम्सालले व्यवसायीहरूलाई धम्कीपूर्ण भाषा बोल्नु दु:खद छ,’ उनले भने, ‘यस्ता अभिव्यक्तिले सरकार र निजी क्षेत्रबीचको सम्बन्धमा नकारात्मक असर पार्नुका साथै  काम गर्ने वातावरण बिगार्छ ।’

संघका सचिव राजन ज्ञवालीले सरकार व्यवसायीको अभिभावक बन्नुको साटो मन्त्रीले नै व्यवसायीको खुट्टा भांच्न निर्देशन दिनु गैरकानूनी अभिव्यक्ति भएको गुनासो गरे । मन्त्रीका अभिव्यक्रि पछि सरकार समर्थकबाट व्यवसायीमाथि सामाजिक सञ्जालमा अपमानजनक र घृणास्पद टिकाटिप्पणी बढेकाले मानसिक पीडा दिएको सचिव ज्ञवालीले बताए ।

पत्रकार सम्मेलनमा निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष रवि सिंहले व्यवसायीलाई आतंकित गरेर नभई सम्मानजनक व्यवहार गरेर मात्र आयोजना समयमा पूरा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?