Comments Add Comment

अवैधरुपमा डिजेल भारत लैजाँदै गरेको अवस्थामा तीनजना पक्राउ

३ फागुन, वीरगञ्ज । अवैध रुपमा डिजल भारततर्फ निकासी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाँउपालिका -३ बस्ने ३३ वर्षीय रामकृष्ण उप्रेती, राक्सीराङ गाउँपालिका- ३ बस्ने २१ वर्षीय अशोक पाख्रीन र पर्साको वीरगञ्ज महानगरपालिका- २२ का शम्भु महतो पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ परेका उप्रेती ना.७ ख १५११ नम्बरको ट्याङ्कर चालक, पाख्रीन सहचालक र गुप्ता स्वेता आलय ट्रेडर्सको मुन्सी हुन् ।

आइतबार राति ६:५० बजे च्याम्बरमा १ हजार लिटर र ट्याङ्करको फ्युल ट्याङकमा ३६० लिटर गरी जम्मा १ हजार ३६० लिटर डिजेल भारततर्फ निकासी गर्दैगर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कायालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

वीरगञ्ज-२२ जगरनाथपुरस्थित स्वेता आयल ट्रेडर्सबाट ट्याङ्करमा डिजेल भरेर अवैध रुपमा निकासी गर्न आईसीपीको मुल बाटो हुँदै भारततर्फ जाँदै गरेको छ, भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो । आईसीपीको मुलगेटमा ट्याङ्कर रोकेर चेकजाँच गर्दा उक्त परिमाणको डिजेल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भारतमा भन्दा नेपालमा डिजेल, पेट्रोल लगायतका इन्धन सस्तोमा पाइने भएकोले भारततर्फ तस्करी हुने गरेको छ । हाल वीरगञ्जमा डिजेलको प्रतिलिटर मूल्य ९३ रूपैयाँ रहेको छ भने भारतीय सीमावर्ती बजार रक्सौलमा ८४.६३ रूपैयाँ भारू अर्थात १ सय ३५ रूपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment