Comments Add Comment

‘जुन ठाउँमा २५ वर्ष पढाएँ, त्यहीँ आन्दोलन गर्नुपरेको छ’

सञ्जीव उप्रेतीको युवाअवस्था प्राध्यापन र लेखनमै बित्यो । त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागमा मात्रै उनले २५ वर्ष पढाए । उप्रेती आफैंले पनि एमए त्रिविमै पढेका हुन् । यद्यपि, त्रिविबाट राजीनामा दिएपछि उनको परिचय अहिले नागरिक अभियन्ता बनेको छ ।

पुस ५ गते संसद विघटन गरिएसँगै उनी निरन्तर सडकमा छन् । सडक आन्दोलनकै संघर्षको क्रममा बालुवाटारमा उनी पनि सामान्य घाइते भए । सोमबार कीर्तिपुरमा भेटिएका उनी नागरिक आन्दोलनकै बारे गफिँदै थिए ।

यतिकैमा त्रिभुवन विश्वविद्यालय परिसरमा शैक्षिक प्रतिगमनविरुद्धको मार्चमा देखाइन लागेको नाटकका सामग्री प्रहरीले नियन्त्रण गर्‍यो । यो घटनालाई उप्रेतीले सहजै लिन सकेनन् । अन्य युवासँगै उनी पनि नाराबाजीमा लागे । विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा सिर्जनात्मक कला देखाउन खोज्दा भएको प्रहरी दमनको उनले खुलेर विरोध गरे । उप्रेती आफैं साहित्यकार र नाटककार भएका कारण पनि उनको सिर्जनशील मन चुप बस्न सकेन ।

आफ्ना युवा विद्यार्थीसँगै उनी पनि आफ्नै विश्वविद्यालय प्रतिगामी भयो भन्दै थिए । यही सिलसिलामा उप्रेतीसँग अनलाइनखबरका निर्भीकजंग रायमाझीले त्रिवि परिसरमा सोमबार भएको प्रदर्शनबारे कुराकानी गरेका छन् :

आज भएको प्रहरी हस्तक्षेपको निकै विरोध गर्नुभयो नि !

म विश्वको विभिन्न देशका विश्वविद्यालयहरू पनि गएको छु । त्यहाँ नाटक देखाउने, कला प्रदर्शन गर्ने, विरोध गर्ने कुरालाई सामान्य रुपमा लिइन्छ । हाम्रोमा भने नाटक देखाउने कुरासमेत प्रहरीले बुझेन ।

उसले नाटकमा प्रयोग हुने बुख्याँचालाई जलाउने ‘पुत्ला’ सोचेर खोस्यो । यसमा प्रहरी संयन्त्रको मात्र दोष छैन, राज्यसंयन्त्रकै कुरा जोडिन्छ । किनभने सिर्जनात्मक प्रतिरोधलाई यहाँ ब्युरोक्रेटिक इस्यूले (प्रशासनिक दृटिकोण) मात्र हेर्ने गरिन्छ । यसैले युवाहरूको नाटकमा भएको हस्तक्षेपको विरोध गर्दै उभिएको हुँ ।

आफैंले तीन दशक बिताएको विश्वविद्यालयको आँगनमा तपाईं नै लडिरहनुपरेको छ किन ?

जुन ठाउँमा मैले २५ वर्ष पढाएँ, आफू पनि पढें, त्यही ठाउँमा आएर शैक्षिक प्रतिगमन भयो भन्दै नारा लगाउनु परिरहेको कुरा साँचो हो । यो मेरा लागि राम्रो कुरा होइन । तर पनि वर्षौंदेखि यहाँ बेथिति चलिरहेको छ ।

मैले भन्नैपर्ने हुन्छ कि चरम दलीय भागबण्डा भएपछि नै त्रिभुवन विश्वविद्यालयबाट राजीनामा दिएको हुँ । यहाँ पार्ट–टाइम टिचर राखिँदा पनि दलगत स्वार्थ हाबी हुन्छ । दलकै लागि पढाउन आएकाहरूले पढाएका विद्यार्थी कस्ता हुने भए ! यो त चाटुकार उत्पादन गर्ने कारखानाजस्तो भयो ।

यसर्थ स्वतन्त्र विचारको स्पेस नभएको कारण विरोध गरिरहनुपरेको छ । अन्य धेरै भित्री समस्या त छँदै छन् ।

यो पनि पढ्नुहोस् :  ‘साहित्यकार सधैं प्रतिपक्षमा हुनुपर्छ’

तपाईंको अनुभवमा यसको दीर्घकालीन समाधान के हुन सक्छ ?

सबैभन्दा पहिले त दलीय भागबन्डाको नै अन्त्य हुनुपर्छ । यसको अर्थ राजनीति सिक्ने–सिकाउने, विरोध गर्ने, छलफल गर्ने हुनुहुन्न भनेको होइन ।

हामी कोही पनि राजनीतिभन्दा बाहिर छैनौं । हाम्रो घरमा पानी आएन भने त्यो पनि राजनीतिकै उपज हो । सबै चिजमा राजनीति छ । तर, राजनीतिक चेत सिकाउने ठाउँलाई राजनीतिमात्र गर्ने थलो बनाइयो ।

विश्वविद्यालयमा त विद्यार्थीलाई समाजवाद, लोकतन्त्र, सामाजिक न्याय सबैबारे प्रशिक्षित गरिनुपर्ने हो । रिसर्चले के भन्छ भने प्राज्ञिक कर्म गर्ने थलो भएकाले त विज्ञ पो भर्ति गर्नुपर्ने । सबैकुरामा दलीयकरण भएपछि विश्वविद्यालयमात्र होइन शैक्षिक प्रणाली नै अस्तव्यस्त हुन्छ ।

भनेपछि हाम्रो विश्वविद्यालय गतिशील होइन जड छ भन्नुभएको हो !

हो, हाम्रो विश्वविद्यालय जड भयो । पूर्णतः दलीयकृत भयो । त्रिविमात्र होइन शिक्षा प्रणाली नै निजीकरणले गर्दा ध्वस्त छ । म आफैं यहाँ पढउँदाखेरि विद्यार्थीको दुई समूह देख्थेँ । एउटा अंग्रेजी बोल्न जान्ने, सहरका विद्यार्थीहरू थिए, अर्कोचाहिँ सरकारी विद्यालयमा पढेका । यस किसिमको असमानता अहिले झनै बढेर गएको छ ।

शिक्षामा प्रतिगमन हाबी हुँदै गयो नि शिक्षाको प्रणाली नै विभेदपूर्ण बन्न गयो । जातिय, वर्गीय, लैंगीग विभेदको कारखाना नै शिक्षा प्रणाली भएपछि कसरी हाम्रो समाज र राष्ट्र बन्छ । शिक्षामा समानतासँग यो कुरा जोडिएको छ ।

धेरै वर्ष युवालाई पढाउनुभयो उनीहरूसँग घुलमिल हुनुभयो । अहिलेको पुस्तालाई हेर्दा के सोचाइ आउँछ ?

युवा पुस्ताले फरक हुने आँट गर्नुपर्छ । सामाजिक न्यायका लागि उभिनुपर्छ । जे चलिआएको छ त्यसमा प्रश्न गर्न सक्नुपर्छ ।

अहिलेको संसद विघटनको सवालमा त झनै चुप बस्न हुँदैन किनभने यो सवाल संविधानसँग जोडिएको छ । यसैले युवा पुस्ता स्वतन्त्र हिसाबले सडकमा आउनुपर्छ । ४० प्रतिशतभन्दा बढी जनसंख्या भएको देशमा युवा पुस्ता नै परिवर्तनका लागि लड्नुपर्ने हुन्छ ।

तपाईं प्राध्यापक पदमै भएको भए यसरी निर्धक्क बोल्न, सडकमा आउन सक्नुहुन्थ्यो ?

कतिपय अवस्थामा म आफ्नै अध्ययन, लेखनले गर्दा सधैं सडकमा देखिन सकिनँ हुँला । तर, २०६२–६३ को जनआन्दोलनमा त सक्रिय भएर सडकमा आएकै हुँ । विश्वविद्यालयभित्रका बेथितिमाथि पनि बोलेको छु, लेखेको छु । पदमा हुँदा र नहुँदाको अवस्थाले मेरो लेख्ने–बोल्ने काम रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment