+
+
Shares

कैलालीको बजारमा चौरपाटीको कोदो

रामहरि ओझा रामहरि ओझा
२०७७ फागुन ५ गते ८:५२

५ फागुन, डोटी । गत वर्ष ‘फल्याको कोदो, कुट्याको धान‘ को नारासहित कोदो बाली प्रवर्द्धन सुरु गरेको अछामको चौरपाटी गाउँपालिकाले कोदो बिक्रीका लागि बजारमा ल्याएको छ ।

गाउँपालिकाले किसानहरुले फलाएको कोदो चामलसँग साटेर ५, १० र १५ किलो प्याकेट बनाई बजारमा बिक्री थालेको हो । सो कोदो कैलालीको धनगढीस्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र कैलालीकै अत्तरियामा रहेको जय पतन्जली आरोग्य केन्द्रले बिक्री सुरु गरेका छन् ।

कोदो बाली लगाउन छोड्न थालेका कृषकहरुलाई आकर्षित गर्न गाउँपालिकाले चामलसँग कोदो साटेर बजारमा ल्याएको हो । यस वर्ष दुई सय क्वीण्टल कोदो संकलन गरिएको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदले बताए । ‘गाउँपालिकामा कोदोको उत्पादन धेरै हुन्छ, तर बजार नहुँदा कृषकहरुले कोदो बाली लगाउँदैनन्,’ गाउँपालिकाका अध्यक्ष साउँद भन्छन् ‘कोदो बाली प्रवर्द्धन गर्नका लागि गाउँपालिकाले यो नीति लिएको हो ।’

तराईका जिल्लाबाट चामल लिएर अछाम पुगेका ट्रकमा कोदो भरेर निर्यात गर्ने आफ्नो उद्देश्य रहेको अध्यक्ष साउँद बताउँछन् । गाउँपालिकाले ल्याएको ‘फल्याको कोदो, कुट्याको धान’ कार्यक्रमले कोदो उत्पादनमा उल्लेख्य वृद्धि आउनुका साथै किसानको आर्थिक अवस्था सुधारमा पनि टेवा पुग्ने अध्यक्ष साउँदको विश्वास छ ।

चौरपाटी गाउँपालिकाले असार १६ गतेलाई कोदो दिवस मनाउने निर्णयसमेत गरेको छ ।

कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, भिटामिन बी, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका तत्व पाइने हुँदा कोदो स्वास्थ्यका लागि पनि बहुउपयोगी मानिदै आएको छ ।

चौरपाटी गाउँपालिकाले भटमासको समर्थन मूल्य तोकेपछि यस वर्ष एक सय ५६ क्वीण्टल भटमास समेत किसानहरुबाट खरीद गरेको थियो । विगतका वर्षहरुमा किसानहरुले प्रतिकिलो ३० रुपैयाँका दरले भटमास बिक्री गर्नु पर्ने बाध्यता रहेकोमा यस वर्ष गाउँपालिकाले रातो भटमासको प्रतिकिलो ५० रुपैयाँ, सेतो भटमासको ५५ र कालो भटमासको ६० रुपैयाँ समर्थन मूल्य तोकेको थियो । गाउँपालिकाले ढुवानीमा प्रतिकिलो दुई रुपैयाँ थपेर भटमास बिक्री गरेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?