Comments Add Comment

‘स्थलमार्ग हुँदै भित्रिने आयातित वस्तुको भन्सार जाँचपास वैशाखपछि काठमाडौंबाटै’

४ फागुन, काठमाडौं । उपत्यका भित्रिने आयातित वस्तुको भन्सार जाँचपास आगामी वैशाखपछि काठमाडौंबाटै हुने भन्सार विभागले जनाएको छ ।

काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहबाट उपत्यका भित्रिने सवारीको भन्सार जाँचपासका लागि पूर्वतयारी सुरु गरिएको विभागका अधिकारीको भनाइ छ ।

बन्दरगाह सञ्चालनमा आएपछि वीरगञ्ज, भैहरवा र विराटनगरबाट काठमाडौं आउने दैनिक ३७५ भन्दा बढी मालबाहक सवारी साधनको भन्सार जाँचपास चोभारबाट हुने विभागका महानिर्देशक सुमन दाहालले बताए । मुख्य नाकाबाट काठमाडौं आउने गाडीहरुलाई नाकामा सिल लगाएर काठमाडौं पठाउनेबारे छलफल भइरहेको महानिर्देशक दाहालले बताए ।

भन्सारको विवरणअनुसार वीरगञ्जबाट दैनिक ८ सय, भैरहवाबाट ५ सय र विराटनगरबाट २ सय मालबाहक गाडी जाँचपास हुने विभागले जनाएको छ । जसको २५ प्रतिशत मालबाहक सवारी काठमाडौं आउने सामानहरु बोकेको हुने महानिर्देशक दाहालले बताए । ‘वैशाख अन्तिमसम्ममा बन्दगाह बन्छ, संरचनाहरु धेरै मात्रामा निर्माण भएका छन्, त्यसपछि काठमाडौंबाटै भन्सार जाँचपास हुन्छ,’ उनले भने ।

काठमाडौं आउने सवारी नाकाबाट सिधै काठमाडौं आए सीमा नाकामा भन्सारको कामको चाप घट्ने र भन्सार जाँचपास पनि सहज र सरल हुने विभागको विश्वास छ ।

जुनसुकै नाकाबाट छिरे पनि काठमाडौं आउने मालबाहक सवारी सील लगाएर काठमाडौं पठाइनेबारे विभागले तयारी गरिरहेको छ ।

सुख्खा बन्दरगाह सञ्चालन तथा निर्माणको अख्तियारी प्राप्त संस्था इन्टरमोड यातायात विकास समितिका अनुसार सुख्खा बन्दरगाह निर्माणको भौतिक प्रगति लक्ष्यअनुसार नै छ । वैशाख अन्तिम साता निर्माण सम्पन्न गर्नेगरी बन्दरगाहको ठेक्का सम्झौता भएको र निर्माण सम्पन्नलगत्तै सञ्चालन गर्नेगरी तयारी थालिएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘छिटोमा जेठ पहिलो हप्ताबाट बन्दरगाह सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं । विलम्ब नहोस् भनेर बन्दरगाह सञ्चालन मोडालिटीबारे अध्ययन सुरु भएको छ,’ कार्यकारी निर्देशक गजुरेलले भने ।

निर्माण सक्नेबित्तिकै भन्सार, क्वारेन्टाइन, सुरक्षा जाँच लगायतका सेवा सुरु गर्नेगरी प्रतिवेदन बनाउन वाणिज्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति पनि बनेको गजुरेेलले बताए । समितिमा भन्सार, इन्टरमोडलका अधिकारी पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment