News Summary
Generated by OK AI. Editorially reviewed.- भन्सार निर्णयमा चित्त नबुझ्ने पैठारीकर्ताले २०८२/८३ मा महानिर्देशक समक्ष १ सय ९६ प्रशासकीय पुनरावलोकनका निवेदन दर्ता गरेका छन्।
- अघिल्लो आवबाट सरेका २ सय २२ सहित गत आवमा मूल्यांकन र वर्गीकरणसम्बन्धी कुल ४ सय १८ निवेदन पुगेका छन्।
- तीमध्ये ३ सय ८३ निवेदनको निर्णय र फर्छ्योट भएको छ, जुन ९२ प्रतिशत प्रगति हो।
२६ असोज, काठमाडौं । भन्सार प्रशासन निर्णयमा चित्त नबुझाइ पुनरावलोकनमा जाने प्रवृत्ति गत आर्थिक वर्ष २०८२/८३ मा समेत कायमै रह्यो ।
भन्सार विभागका अनुसार २०८२/८३ मा भन्सार अधिकृतले गरेका वस्तु वर्गीकरण, मूल्यांकन तथा अन्य निर्णयमा चित्त नबुझ्ने पैठारीकर्ताले महानिर्देशक समक्ष १ सय ९६ प्रशासकीय पुनरावलोकनका निवेदन दर्ता गरेका छन् ।
अघिल्लो आवदेखि गत आवका लागि कुल २ सय २२ मुद्दा सरेर आएका थिए । यस प्रकार गत आवमा मूल्यांकन पुनरावलोकन तथा वर्गीकरण सम्बन्धी निवेदन संख्या कुल ४ सय १८ पुगेको थियो । यी निवेदनमध्ये कुल ३ सय ८३ निवेदनको निर्णय र फर्छ्योट भएको छ । जुन ९२ प्रतिशत बराबर प्रगति हो ।
गत आव जिम्मेवारी सरी आएका २ सय २२ निवेदनमध्ये मूल्यांकन पुनरावलोकन समितिमा दर्ता भएका समेत १ सय ५८ र वर्गीकरण पुनरावलोकन सम्बन्धी ६४ थिए ।
२०८२/८३ मा नयाँ दर्ता भएका १ सय ९६ निवेदनमध्ये मूल्यांकन पुनरावलोकन सम्बन्धी ५६ र वर्गीकरण पुनरावलोकन सम्बन्धी १ सय ४० छन् ।
गत आव निर्णय भएका कुल ३ सय ८३ निवेदनमध्ये मूल्यांकन पुनरावलोकनतर्फ २ सय ९ र वर्गीकरण पुनरावलोकनमा १ सय ७४ छन् ।
यस आवमा पुनरावलोकन सम्बन्धी निर्णय भएका कुल ३ सय ८३ निवेदनका निर्णय डिजिटाइज गरिएको विभागले जनाएको छ ।
प्रशासकीय पुनरावलोकन निर्णयउपर परेका पुनरावेदन वा अन्य भन्सार सम्बद्ध रिट निवेदनउपर राजस्व न्यायाधीकरण/अदालतबाट माग भए बमोजिमका सक्कल मिसिल, लिखित जवाफ तथा कैफियत प्रतिवेदन पठाइएको विभागको वार्षिक कार्यप्रगतिमा उल्लेख छ ।
प्रतिक्रिया 4