+
+
Shares

पूजामा प्रयोग गर्ने घिउको नाममा रसायन मिसिएको चिल्लो पदार्थ बेच्न प्रतिबन्ध

प्याकेटमा अनिवार्य ‘खानको लागि होइन’ लेख्नुपर्ने

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै अखाद्य पदार्थ खाने घिउसँग मिल्दोजुल्दो बनाएर बेच्ने कार्यमा रोक लगाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूजा, होम, हवन र बत्ती बाल्न प्रयोग हुने रसायन मिसिएको चिल्लो पदार्थलाई घिउका रूपमा उत्पादन र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ ।
  • विभागले वनस्पति घिउ, बेकरी सर्टेनिङ, परिष्कृत तेल, प्याराफिन र खनिज तेल मिसाएर बनाइने पदार्थलाई खाद्य घिउ, बेकरी सर्टेनिङ वा पूजा घिउका नाममा बेच्न नपाइने जनाएको छ ।
  • पूजा वा दीप प्रज्ज्वलनका लागि मात्रै बनाइने चिल्लो पदार्थको प्याकेटमा ‘खानको लागि होइन’ र कालो क्रस चिह्न अनिवार्य राख्नुपर्ने तथा आदेश विपरीत गरे कडा कारबाही हुने चेतावनी दिइएको छ ।

२६ असोज, काठमाडौं । पूजा, होम, हवन र बत्ती बाल्न प्रयोग हुने रसायन तथा खनिज तेल मिसिएको चिल्लो पदार्थलाई ‘घिउ’ का रूपमा उत्पादन तथा बिक्री वितरण गर्न सरकारले प्रतिबन्ध लगाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै अखाद्य पदार्थ खाने घिउसँग मिल्दोजुल्दो बनाएर बेच्ने कार्यमा रोक लगाएको हो ।

बजार अनुगमन र उपभोक्ता गुनासोका आधारमा विभागले यस्तो कदम चालेको बताएको छ । विभागका अनुसार केही व्यवसायीले वनस्पति घिउ, बेकरी सर्टेनिङ, परिष्कृत तेलमा बासना, प्याराफिन, खनिज तेल र अन्य रासायनिक पदार्थ मिसाएर पूजाका लागि भन्दै चिल्लो पदार्थ उत्पादन गरिरहेका छन् ।

यस्ता पदार्थको रङ, गन्ध, प्याकेजिङ र प्रस्तुति खाने घिउको जस्तै हुने भएकाले उपभोक्ता झुक्किएर भान्सामा प्रयोग गर्न सक्ने गम्भीर जोखिम देखिएको विभागको ठहर छ ।

यसैलाई मध्यनजर गर्दै खाद्य उद्योगको अनुमतिपत्र लिएका उत्पादकलाई यस्ता चिल्लो पदार्थ उत्पादन तथा बिक्री वितरण नगर्न विभागले निर्देशन दिएको छ ।

पूजा घिउ भन्न नपाइने

सरकारले खाने घिउ, वनस्पति घिउ र बेकरी सर्टेनिङको छुट्टै मापदण्ड तोकेको छ । त्यसैले पूजा वा दीप प्रज्ज्वलनका लागि तयार पारिएको चिल्लो पदार्थलाई ‘खाद्य घिउ’, ‘बेकरी सर्टेनिङ’ वा ‘पूजा घिउ’ का नाममा उत्पादन, भण्डारण र बिक्री वितरण गर्न पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ ।

अब उप्रान्त कसैले पूजा, होम वा दीप प्रज्ज्वलनका लागि मात्रै चिल्लो पदार्थ उत्पादन तथा बिक्री गरे, त्यसको प्याकेटको अगाडिको भागमा स्पष्ट देखिने गरी ‘खानको लागि होइन’ भनेर लेख्नुपर्ने छ ।

त्यस्तै त्यसमा ठूलो फन्टमा कालो क्रस चिह्न अनिवार्य राख्नुपर्ने व्यवस्था विभागले गरेको छ । यस्ता अखाद्य पदार्थको लेबलमा घिउ, वनस्पति घिउ वा बेकरी सर्टेनिङ जस्ता शब्द प्रयोग गर्न पाइने छैन ।

त्यसैगरी खानयोग्य घिउ, वनस्पति घिउ वा बेकरी सर्टेनिङका हकमा भने खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिमको लेबल विवरण अनिवार्य रूपमा खुलाएर मात्र उत्पादन तथा बिक्री वितरण गर्नुपर्ने छ ।

खाद्य र अखाद्य वस्तु मिश्रण हुने, मिसावट गरिने, गलत लेबल लगाइने र अखाद्य वस्तु खाद्य आपूर्ति शृङ्खलामा प्रवेश गर्ने सम्भावना रोक्न यो कडा व्यवस्था गरिएको विभागले जनाएको छ ।

विभागको यो आदेश विपरीत कार्य गरेको पाइए खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम कडा कारबाही हुने चेतावनी समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?