News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयको टोलीले काठमाडौंको नयाँबजारस्थित एक पसलबाट म्याद नाघेका खाद्य सामग्री नष्ट गरेको छ ।
- टोलीले श्री प्रिन्स स्टोरबाट ७६ हजार ८ सय ५० रुपैयाँ बराबरको म्याद नाघेको भटमास र चिउरा जफत गरी नष्ट गरेको हो ।
- विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम कारबाही गर्दै पसल सञ्चालकलाई लेबल भएका सामग्री मात्र खरिद–बिक्री गर्न निर्देशन दिएको छ ।
२९ जेठ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं नयाँबजारमा रहेको एक पसलबाट ठूलो परिमाणमा म्याद नाघेका खाद्य सामग्री बरामद गरी नष्ट गरेको छ ।
विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले गरेको आकस्मिक निरीक्षण क्रममा काठमाडौं महानगरपालिका-१६ स्थित श्री प्रिन्स स्टोरमा गम्भीर लापरबाही भेटिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।
अनुगमन क्रममा उक्त स्टोरमा उपभोग्य मिति समाप्त भइसकेको ३१ हजार ३ सय ५० रुपैयाँ बराबरको १ सय १० किलो भटमास र ४५ हजार ५ सय रुपैयाँ बराबरको १ सय ४७ किलो ताइचिन चिउरा फेला परेको थियो ।
यसरी कुल ७६ हजार ८ सय ५० रुपैयाँ बराबरको अखाद्य वस्तु बिक्रीका लागि राखिएको पाइएको थियो । साथै, पसलमा पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थहरू समेत भण्डारण गरी बिक्री वितरणका लागि राखिएको विभागले जनाएको छ ।
फेला पारिएका ती म्याद नाघेका सामग्री तत्कालै काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने गाडीमा हालेर नष्ट गरिएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम गरिएको यस कारबाहीका साथै टोलीले पसल सञ्चालकलाई आगामी दिनमा पूर्ण लेबल भएका खाद्य पदार्थमात्र खरिद–बिक्री गर्न कडा निर्देशन दिएको छ ।
साथै, स्टोरमा सामान राख्दा ‘फिफो’ (पहिले आउने वस्तु पहिले बिक्री गर्ने) पद्धति अनिवार्य पालना गर्दै व्यवस्थित रूपमा भण्डारण गर्नसमेत सचेत गराइएको छ ।
प्रतिक्रिया 4