News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिद्धार्थ आयल इन्डस्ट्रिजको 'तेज' ब्रान्डको तोरी तेल न्यूनस्तरको पाइएकाले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
- विभागले प्रयोगशाला परीक्षणमा मापदण्डविपरीत पाइएको उक्त ब्रान्डको ब्याच नम्बर २० को तेल बिक्री वितरणमा समेत पूर्ण रोक लगाएको छ ।
- खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै सो कदम चालेको जनाएको छ ।
१४ जेठ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिद्धार्थ आयल इन्डस्ट्रिज रुपन्देहीले उत्पादन गरेको ‘तेज’ ब्रान्डको तोरी तेल न्यूनस्तरको पाइएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।
विभागले बजार अनुगमन क्रममा संकलन गरिएको उक्त तेलको नमुना प्रयोगशालामा परीक्षण गर्दा सरकारले तोकेको अनिवार्य मापदण्ड अनुसार नपाइएको जनाएको हो ।
विभागका अनुसार सिद्धार्थ आयल इन्डस्ट्रिजबाट उत्पादित आयातित तोरीबाट बनेको तेलमा कैफियत देखिएको हो ।
उपभोग्य मिति ६ महिना र ब्याच नम्बर २० रहेको उक्त तेलको उत्पादन मिति २८ फागुन २०८२ छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) बमोजिम विभागले उक्त ब्याचको तेल बजारबाट तत्काल फिर्ता गर्न उत्पादकलाई निर्देशन दिएको छ ।
साथै, सोही ऐनको दफा ३८ को उपदफा (४) बमोजिम उक्त तेल बिक्री वितरण नगर्न र नगराउन समेत आदेश दिइएको छ ।
विभागले प्रयोगशालामा विश्लेषण गर्दा तेलका विभिन्न प्यारामिटरहरू सरकारले तोकेको मापदण्ड अनुसार नपाइएको (न्यूनस्तर) भएकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै यो कदम चालिएको जनाएको छ ।
यससँगै अब सम्बन्धित उत्पादकले बजारमा पठाइसकेको उक्त ब्याचको सबै तेल आफ्नै खर्चमा फिर्ता गर्नुपर्ने छ भने उपभोक्तालाई पनि यस्तो तेल प्रयोग नगर्न सचेत गराइएको छ ।
प्रतिक्रिया 4