News Summary
Generated by OK AI. Editorially reviewed.- सिंहदरबारभित्रको सेन्ट्रल क्यान्टिनले गुणस्तरहीन र अखाद्य वस्तु प्रयोग गरेको फेला परेपछि सरकारले २ लाख १ हजार रुपैयाँ जरिबाना गरेको छ ।
- अनुगमन टोलीले क्यान्टिनको स्टोरबाट घुन लागेको चनाको दाल र ओसिएको बदामसहित ६ हजार ५ सय ६० रुपैयाँ बराबरका अखाद्य सामग्री नष्ट गरेको छ ।
- भक्तपुरको एक खानेपानी उद्योगलाई १० हजार रुपैयाँ जरिबाना गरिएको छ भने काठमाडौंका अन्य १० फर्मलाई सुधार गर्न निर्देशन दिइएको छ ।
२९ जेठ, काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा चरम लापरबाही र अखाद्य वस्तु प्रयोग भइरहेको फेला परेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले शुक्रबार गरेको आकस्मिक निरीक्षण क्रममा सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिन सञ्चालन गरिरहेको ‘जी एन्ड बी क्याफे ग्रुप’ मा गम्भीर कैफियत फेला पारेको हो ।
अनुगमन क्रममा उक्त क्याफेले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी गुणस्तरहीन कच्चापदार्थ प्रयोग र भण्डारण गरेको पाइएको छ ।
टोलीले क्यान्टिनको स्टोरबाट १७ किलो घुन लागेको चनाको दाल, ११ किलो ओसिएको बदाम र प्रयोग गर्न अयोग्य अवस्थाका १४ वटा फुटेका अन्डा फेला पारेको थियो ।
करिब ६ हजार ५ सय ६० रुपैयाँ बराबरका ती गुणस्तरहीन सामग्रीलाई अनुगमन टोलीले तत्काल नियन्त्रणमा लिएर नष्ट गरिदिएको छ ।
अखाद्य र म्याद नाघेका वस्तु प्रयोग मार्फत उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क) विपरीत कार्य गरेको ठहर गर्दै विभागले सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम क्याफेलाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरेको छ ।
यसैगरी भक्तपुर चाँगुनारायण नगरपालिका–३ मा सञ्चालित ‘जय छुमा गणेश शुद्ध खानेपानी प्रालि’ मा पनि अनुगमन गरिएको थियो ।
उक्त खानेपानी उद्योगले खरिद बिल नराखेको र उपभोक्ता संरक्षण ऐन बमोजिमका प्रक्रिया पूरा नगरेकाले १० हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।
शुक्रबारको बजार अनुगमन क्रममा काठमाडौंका विभिन्न स्थानमा रहेका अन्य १० फर्म पनि निरीक्षण गरिएको थियो । ती फर्ममा सामान्य प्राविधिक त्रुटि पाइएकाले उनीहरूलाई तत्काल सुधार गर्न र नियम पालना गर्न सामान्य निर्देशन दिइएको छ ।
प्रतिक्रिया 4