News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत भेटिएका ६ वटा व्यावसायिक फर्मलाई कुल ३ लाख २६ हजार रुपैयाँ जरिबाना गरेको छ ।
- म्याद नाघेका खाद्य सामग्री बिक्रीका लागि राखेको भेटिएपछि भृकुटीमण्डपस्थित काठमाडौं फन पार्कलाई सबैभन्दा बढी २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।
- अनुमति नलिई लेबलिङ गर्ने रेडोलेन्स नेपाललाई ५० हजार र इलाभेन इलाभेन ग्रुपलाई ५१ हजार रुपैयाँ जरिबाना गरिएको छ ।
२१ जेठ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा कैफियत भेटिएका ६ वटा व्यावसायिक फर्मलाई जरिबाना तिराएको छ ।
बिहीबार गरिएको अनुगमन क्रममा उपभोक्ता हित विपरीत कार्य गर्ने ती फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ३ लाख २६ हजार रुपैयाँ जरिबाना गरिएको हो ।
सबैभन्दा बढी जरिबाना भृकुटीमण्डपस्थित काठमाडौं फन पार्कलाई गरिएको छ । फन पार्कले म्याद नाघेका (डेट एक्स्पायर्ड) खाद्य सामग्री बिक्रीका लागि राखेको भेटिएपछि विभागले २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको हो ।
विभागका सूचना अधिकारी निर्माणकुमार कार्कीले फनपार्कमा ठूलो परिमाणमा म्याद नाघेका खाद्यवस्तु बिक्री गरिरहेको फेला परेको जानकारी दिए ।
त्यस्तै नयाँ बानेश्वरमा रहेको रेडोलेन्स नेपाल प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना गरिएको छ । उक्त फर्मले आवश्यक अनुमति नै नलिई आफैं अत्तर (सेन्ट) हरूको लेबलिङ र बोटलिङ गर्ने गरेको पाइएकाले कारबाही गरिएको कार्कीले बताए ।
अनुगमनकै क्रममा शंखमुलस्थित इलाभेन इलाभेन ग्रुप प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना गरिएको छ ।
यस्तै काठमाडौं पञ्चकुमारीस्थित पूर्वेली सेकुवा कर्नरले उपभोक्तालाई बिल नदिई कारोबार गरेको भेटिएपछि १० हजार रुपैयाँ जरिबाना गरिएको छ ।
यसका साथै चाबहिलको मोबडिल्ज र बुद्धनगरको गणेश मोटर बाइक वर्कसपलाई जनही ५ हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।
जरिबानाका अतिरिक्त विभागले भीमसेनगोलाको गर्ल्स क्लोजेट प्रालि चाबहिलको रुम्बा कलेक्सन र नाचघर गल्लीको डेलिसियस मम पसललाई भने सामान्य निर्देशन दिएको छ ।
प्रतिक्रिया 4