
निर्माता, कलाकार तथा लेखक दीपकराज गिरीले चलचित्रमा सधै सबै जना विद्यार्थी नै रहने बताएका छन् । चलचित्रको बिषयमा कहिले पनि सिकेर नसकिने भन्दै उनले आफैले बनाएका चलचित्रमा पनि धेरै भुल देख्ने बताए ।
उनले भने–‘मैले बनाएको चलचित्रमा म आफै ७० वटा भन्दा बढी भुल देख्छु । मलाई मन नपराउनेहरुले त २ सय भन्दा बढी भुल देख्नुहुन्छ । यही नै हाम्रो गुरु हो । यसबाट नै हामीले सिक्ने हो ।’
उनले, चलचित्र क्षेत्रमा २ धारको बहस सधै भैरहेको बताए । दीपकले अगाडि थपे–‘एउटा धारले चलचित्रलाई कलात्मक बनाउनुपर्छ भन्ने बिषयमा बहस गरिरहेको छ । अर्को धारले चलचित्रबाट पैसा कमाउने हो भन्ने बिषयमा बहस गरेको छ । तर, चलचित्रमा व्यापार र कला दुबै हुनुपर्छ । कला विना व्यापार अधुरो छ, व्यापार विना कला अधुरो छ ।’
दीपकले चलचित्र क्षेत्रमा लेखक नै पाउन मुश्किल भएको सुनाए । उनले भने–‘हाम्रो देशमा एकसे एक निर्देशक छन्, एकसेएक प्राविधिक छन् । तर, एकसे एक लेखक छैनन् ।’
दीपक आफूले निर्माण गर्ने चलचित्र आफैले लेख्दै आएका छन् । उनले, आफूले खोजे जस्तो कथा लेख्ने अर्को लेखक पाएको खण्डमा काम गर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया 4