Comments Add Comment

चन्द्रपुरलाई हराउँदै वालिङ तेस्रो स्थानमा उक्लियो

६ फागुन, काठमाडौं । चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै वालिङ नगरपालिका राष्ट्रिय महिला लिगको तेस्रो स्थानमा उक्लेको छ । बिहीबार भएको एक मात्र खेलमा चन्द्रपुरलाई ३-० ले पराजित गर्दै स्याङ्जाको वालिङले लिगमा सुखद् अन्त्य गरेको हो ।

सातदोबाटोस्थति एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङका लागि हिमा रावत, मेथो रुथ र अमिसा कार्कीले एक एक गोल गरिन् । हिमाले १७औं मिनेटमा गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् ।

क्यामरुनी खेलाडी मेथोले ४३औं मिनेटमा गोल गर्दै पहिलो हाफमा वालिङको अग्रता दोब्बर पारे । ५४औं मिनेटमा अमिसाले गोल गर्दै वालिङलाई ३-० को जित दिलाइन् ।

पाँचौं जितपछि १२ खेलबाट १७ अंक जोडेको वालिङ विराटनगरलाई पछि पार्द तेस्रो स्थानमा उक्लेको हो । १२ खेल खेलिसकेको विराटनगर १५ अंकसहित चौथो स्थानमा झरेको छ ।

नेपाल पुलिसले शुक्रवार चौदण्डीगढीलाई पराजित गरेमा वालिङ चौथो र विराटनगर पाँचौमा झर्नेछ । पुलिस ११ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ ।

लिगमा नवौं हार बेहोरेको चन्द्रपुले १२ खेलबाट ९ अंकसहित छैटौं स्थानमा लिग सकाएको छ ।

लिग अन्तर्गत अन्तिम दिन शुक्रबार पुलिस र चौदण्डीगढीबीच खेल बिहान १० बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ । यस्तै उपाधि पक्का गरिसकेको एपीएफ र दोस्रो स्थानको आर्मीबीच खेल दिउँसो २ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।

एपीएफले दुई खेलअघि नै लिगको उपाधि पक्का गरिसकेको छ । शतप्रतिशत जितसहित ११ खेलबाट एपीएफले ३३ अंक जोडेको छ । आर्मीले समान खेलबाट २६ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment