Comments Add Comment

देवघाट गाउँपालिका-१मा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

६ फागुन, तनहुँ। तनहुँको देवघाट गाउँपालिकाको वडा नम्बर १मा राष्ट्रिय प्रसारण लाइनको बिद्युत् पुगेको छ । देवघाट गाउँपालिकाको वडा नम्बर ५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो । त्यस क्षेत्रमा अहिले लघु जलविद्युतमार्फत विद्युत् आपूर्ति भइरहेको थियो । राष्ट्रिय ग्रिड पुगेकाले अब त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।

तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको ग्रामिण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् विस्तार गरिएको हो । नेपाल विद्युत प्राधिकरणमार्फत कार्यान्वयन भइरहेको कार्यक्रममार्फत तनहुँलाई पूर्ण विद्युतीकरण गरिने छ ।

त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको ११ केभी लाइन र ३ वटा ट्रान्सफर्मर बिहीबार संचालन .(चार्ज) गरिएको तनहुँ विद्युतीकरण आयोजनाका साइट इन्चार्ज लक्ष्मण रेग्मीले जानकारी दिनुभयो । ‘लाइन र ट्रान्सफर्मर जडान गरी चार्ज गरेका छौं, तनहुँ वितरण केन्द्रले अब उपभोक्ताको घरघरमा मिटर जडान गर्ने छ’उनले भने,‘लाइन पुगेपछि त्यस क्षेत्रका करिब ५ सय घरधुरी लाभान्वित हुनेछन् ।’

विद्युत आपूर्तिका लागि कालीटार, कोटा र गोपीटारमा एक/एक वटा ट्रान्सफर्मर राखिएको छ । केही दिनअघि घिरिङ गाउँपालिका-१मा पनि राष्ट्रिय प्रसारण लाइन पुर्याई विद्युत् आपूर्ति सुरु गरिएको छ ।

तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत तनहुँ ग्रामिण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न इष्ट इन्डिया उद्योग÷वाइवा ईन्फ्राटेक जेभीसँग १३ मंसिर २०७५मा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको रकम अमेरिकी डलर ६१ लाख ५३ हजार अमेरिकी डलर र १४ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

ठेकेदार कम्पनीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरि सर्भे तथा डिजाइन सम्पन्न गरिसकेको छ । कम्पनी ३३/११ केभी वितरण लाइन निर्माण गर्ने छ ।

कार्यक्रमअन्तर्गत नै बन्दीपुर गाउँपालिकाको सराङघाट र घिरिङ गाउँपालिकामा सबस्टेसन निर्माणाधीन छन् । ग्रामिण विद्युतीकरणअन्तर्गतका सम्पूर्ण कामहरु यसै आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment