Comments Add Comment

पाँच प्रतिशतसम्म खोप गरिब राष्ट्रलाई दिन फ्रान्सको प्रस्ताव

७ फागुन, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले युरोपेली संघ (ईयू) र अमेरिकालाई मुलुकमा आएको समग्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको पाँच प्रतिशतसम्म विकासशील मुलुकलाई दिन आग्रह गरेका छन् ।

फाइनान्सियल टाइम्ससँगको कुराकानीको क्रममा म्याक्रोँले स्वच्छरुपमा कोरोना खोप वितरण गर्न नसके त्यसले विश्वव्यापी असमानता बढाउने बताएका छन् । म्याक्रोँले यसरी थोरै मात्रामा खोप गरिब मुलुकमा पठाउँदा यसले खोप कार्यक्रममा कुनै असर नपार्ने तर अन्य मुलुकको लागि भने यो निकै महत्वपूर्ण हुन सक्ने बताएका छन् । अहिलेसम्म कोरोनाको अधिकांश खोप उच्च आम्दानी भएका मुलुकमा वितरण भइरहेको छ ।

शुक्रबार जी७ को भर्चुअल सम्मेलनमा म्याक्रोँले असमानता कम गर्ने आफ्नो योजना सुनाएका हुन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले डब्ल्यूएचओको विश्वभर कोरोना खोप पुर्‍याउने कार्यक्रम कोभ्याक्समा राष्ट्रपतिबाट चार अर्ब डलर सहयोगको घोषणा हुन सक्ने बताएको छ । त्यस्तै जी७को बैठकका अध्यक्षता गरिरहेको बेलायतले पनि कोभ्याक्स कार्यक्रमलाई थप केही खोप उपलब्ध गराउन सक्ने अपेक्षा गरिएको छ ।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले पनि विश्वभर भइरहेको कोरोना खोप वितरण निकै अस्वस्थ रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment