Comments Add Comment

बुटिक र डिलक्स होटेललाई पनि ‘स्टार’, साइनबोर्डमै संकेत राख्नुपर्ने

७ फागुन, काठमाडौं । नेपालमा बुटिक र डिलक्स होटेलले समेत अब ‘स्टार’ वर्गीकरण पाउने भएका छन् । पर्यटन विभागले सबै स्तरका रिर्सोट, तारास्तरका होटेल र सबै स्तरका बुटिक होटेलका लागि संकेत चिन्ह निर्धारण गरेको छ ।

यसअघि विभागले तारे होटेललाई मात्र स्टार वर्गिकरणमा राखेको थियो । डिलक्ट र बुटिक होटेलको स्पष्ट मापदण्ड निर्धारण भएको थिएन । विभागका अनुसार सबै तहका होटेल तथा रिर्सोटले आफ्नो पहिचान दिने संकेत चिन्ह अनुसारको साइनबोर्ड होटेलको गेटमै राख्नु पर्ने छ ।

यसबाहेक होटेल संघसँग सम्बन्धित संघ संस्थामध्ये आफु कुन संघमा आवद्ध भएको हो, आवद्धता रहेको संघको समेत चिन्ह बोर्डमै राख्नुपर्ने गरी विभागबाट निर्णय भएको छ ।

पर्यटन विभागका अनुसार एकतारेदेखि पाँचतारेसम्मका होटेलको संकेत चिन्ह क्रमशः एकतारा देखि पाँच तारासम्म हुनेछ । उता, पाँचतारा डिलक्स होटेलका लागि पाँचतारा र डिलक्क शब्द राख्नु पर्नेछ ।

यता, साधारण हेरिटेज बुटिक होटेलको न्यूनतम स्तर तीन तारे हुनेछ । जसको संकेत चिन्हमा ‘तीन तारा र स्टाण्डर्ड हेरिटेज’ भन्ने शब्द राख्नुपर्नेछ । डिलक्स हेरिटेज बुटिक होटेलका लागि ‘चारतारा र डिलक्ज हेरिटेज बुटिक’ शब्दले संकेत गरिने भएको छ । लक्जरी हेरिटेज बुटिक होटेलका लागि ‘पाँचतारा र लक्जरी हेरिटेज बुटिक’ शब्द राखिने भएको छ ।
रिर्सोटतर्फ साधारण रिर्सोटले तीन तारे स्तरको मान्यता पाएको छ । यस्तो रिर्सोटले तीनतारा र स्टाण्डर्ड रिर्सोट शब्द लेखेको संकेत चिन्ह पाएको छ ।

डिलक्स रिर्सोटले चारतारा र लक्जरी रिर्सोटले पाँचतारा र लक्जरी रिर्सोट शब्द राखेर आफ्नो रिर्सोटको पहिचान जनाउन सक्ने गरी निर्णय भएको छ । पर्यटक स्तरका होटेलको संकेत चिन्ह ‘टीएस’ हुनेछ ।

साविकमा पर्यटन विभाग र मातहतका कार्यालयबाट पर्यटक स्तरको होटेलको स्तर वर्गिकरण भएका र अहिले प्रदेश सरकारको निकायबाट यस स्तरको होटेलमा वर्गिकरण भएका सबै होटेलले गोलाकार भित्र रातो रंगमा -टीएस) लेखेको चिन्हलाई होटेलको संकेत चिन्हका रुपमा प्रयोग गर्नुवपर्ने विभागले जनाएको छ ।

मोटेलको संकेत चिन्ह ‘एम’

मोटलका लागि भने सरकारले ‘एम’संकेत चिन्ह दिएको छ । गोलाकार रेखा भित्र रातो रंगमा ‘एम’ लेखिएको चिन्ह निर्धारण गरेको छ । साविकमा पर्यटन विभाग र मातहतका कार्यालयमा दर्ता भएका र अहिले प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका मोटेलले यो चिन्ह प्रयोग गर्नुपर्ने भएको छ ।

‘पर्यटक इन’ स्तरमा वर्गिकरण भई सञ्चालनमा रहेका होटेलले भने ‘आइ’ संकेत चिन्ह प्रयोग गर्नुपर्ने छ । बेड एण्ड ब्रेक फास्टका रुपमा दर्ता भएका होटेलहरुको संकेत चिन्ह गोलाकार घेरा भित्र रातो रंगमा ‘बीएण्डबी’ लेखिएको चिन्हलाई संकेत चिन्हका रुपमा निर्धारण गरिएको छ ।

प्रवेशद्वार मै राख्नुपर्ने साइनबोर्ड

विभागका अनुसार सबै स्तरका रिर्सोट, तारास्तरका होटेल, सबै स्तरका बुटिक होटेल/रिर्सोटले प्रवेशद्धारमा सबैले देख्ने गरी साइनबोर्ड राख्नु पर्नेछ । जसमा होटेलको स्तर देखिने गरी निर्धारित संकेत चिन्ह राख्नुपर्ने छ ।

साइनबोर्ड भने सम्बन्धित स्थानीय तहले तोकेको आकार र बनोट अनुसार छनोट गर्न सकिने भएको छ । विभागले यसरी रहने साइनबोर्डको समेत मापदण्ड तोकेको छ । साइनबोर्डको माथिल्लो भागमा नेपालको रंगिन निशाना छाप राख्नु पर्ने भएको छ ।

निशाना छापको मुनी तोकिएको संख्यामा रहेका रातो रहंका तारा र संकेत जनाउने चिन्ह राख्नुपर्ने भएको छ । त्यसको मुनी कालो रंगको धर्का राखेर त्यसको मुनी होटेल/रिर्सोटको नाम राख्नुपर्ने गरी मापदण्ड बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment