Comments Add Comment

सबै विद्यालय खुले, स्वास्थ सुरक्षामा ध्यान छैन

फाइल तस्वीर

७ फागुन, काठमाडौं । देशभरका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणबाट जोगिन भौतिक दुरी कायम गर्न, मास्क लगाउन, समय–समयमा साबुनपानीले हात धुन, सेनिटाइजर प्रयोग गर्ने जस्ता सामान्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सुझाव दिँदै आएको छ ।

बजार, सार्वजनिक यातायात र विद्यालयहरू समेत खुल्न थालेपछि भौतिक दुरी कायम गर्नु भने कठिन बन्दै गएको छ ।

त्यसो त अहिले कोरोना संक्रमण दर पनि घटेको छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला संक्रमितको चाप घटेको बताउँछन् । अस्पतालमा संक्रमितको चाप घट्नुले समुदायमा संक्रमण दर घटेको देखाउँछ ।

‘समुदायमा संक्रमण रहेको भए निमोनिया वा अन्य समस्या लिएर पनि अस्पताल आउँथे’, डा. बास्तोला भन्छन्, ‘अहिलेको वास्तविक अवस्थाबारे राम्रो अध्ययन हुनु जरुरी छ ।’

सतही अध्ययनले कोरोना संक्रमणको वास्तविक अवस्था देखाउन नसक्ने बताउँदै उनी भन्छन्, ‘अध्ययन पनि हुँदै जाला, स्वास्थ्य सुरक्षाको मापदण्ड भने सबैले पालना गरिरहनैपर्छ ।’

वृद्धवृद्धा, दीर्घरोगीहरू अझै पनि उच्च जोखिमै रहेको डा. बास्तोला बताउँछन् । उनका अनुसार खोप लगाएकाहरूबाट पनि अरूलाई कोरोना सर्ने सम्भावना रहने हुँदा सबैले डब्लुएचओको स्वास्थ्य मापदण्ड पालना गर्नु आवश्यक छ ।

तर, नेपालीहरूले मास्क प्रयोगबाहेक स्वास्थ्य सुरक्षाको अन्य मापदण्ड पालना गरेको कमै देखिन्छ । धमाधम खुलेका विद्यालयहरूमा त्यही अवस्था छ । पूर्ण सञ्चालित विद्यालयहरूमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन सम्भव नहुने प्रधानाध्यापक तथा शिक्षकहरू बताउँछन् ।

ललितपुरको कुपण्डोलस्थित प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद कोइराला निकै प्रयास गर्दा पनि कक्षामा विद्यार्थीलाई निश्चित भौतिक दुरीमा राख्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘कक्षा बाहिर त झन् असम्भवै हुने रहेछ ।’

विश्व निकेतन मावि त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेल विद्यार्थीको चाप बढी भएकोले भौतिक दुरी कायम राख्न सम्भव नभएको बताउँछन् । मास्क–सेनिटाइजर प्रयोग र शौचालयको सरसफाइमा विशेष ध्यान दिएको उनले बताए ।

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी सम्बन्धित निकायबाट निरीक्षण समेत नहुँदा विद्यालयहरूमा कोरोना संक्रमणको जोखिम उच्च रहेको बताउँछन् । घरबाट मास्क, सेनिटाइजर ल्याउन छुटाएका विद्यार्थीलाई कतिपय विद्यालयले पाँच गुणा बढी पैसा लिएर ती चिज बेचेको उनको आरोप छ ।

‘१० रुपैयाँको मास्कलाई २० रुपैयाँ र सय रुपैयाँको सेनिटाइजरलाई ५०० असुलेको हामीले पाएका छौं,’ उनी भन्छन्, ‘यस्तो जोखिमपूर्ण समयमा विद्यालय खोल्नु भनेको यसरी पैसा असुल्नकै लागि हो भन्ने देखिएको छ ।’

त्यस्तै, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी कतिपय विद्यालय विद्यार्थीको स्वास्थ्य सुरक्षामा गम्भीर रहेको तर धेरैजसोले सामान्य सुरक्षा सतर्कता पनि नअपनाएको पाइएको बताउँछन् । उनी भन्छन्, ‘सम्बन्धित निकायले तत्काल निरीक्षण गर्नु जरुरी देखिएको छ ।’

गैर–सरकारी संस्था टिच फर नेपालका अध्यक्ष शिशिर खनाल काठमाडौं उपत्यका बाहिरका विद्यालयहरूमा त अहिले कोराना महामारी चलेको छ भन्ने अनुभूति नै नभएको बताउँछन् । ‘माहोल हेर्दा कोरोना भाइरस नै छैन भन्ने जस्तो लाग्छ’, दाङमा रहेका उनले अनलाइनखबरलाई टेलिफोनमा भने, ‘सरकारले तत्काल अध्ययन गरेर सचेतना फैलाउन अत्यावश्यक देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment