Comments Add Comment

राष्ट्रिय महिला लिगका उत्कृष्टहरु के भन्छन्?

७ फागुन, काठमाडौं । विभागीय टोली एपीएफले राष्ट्रिय महिला लिगमा अपराजित रहँदै उपाधि जित्यो । एपीएफले अन्तिम खेलमा त्रिभुवन  आर्मी फुटबल क्लबलाई ३-० ले पराजित गर्दै सबै १२ खेल जित्यो ।

च्याम्पियन एपीएफकी सरु लिम्बु लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् र स्कुटर प्राप्त गरिन् । यस्तै एपीएफकै सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड र भगवती थापा उत्कृष्ट प्रशिक्षक घोषित भए ।

नेपाल पुलिसकी उषा नाथ उत्कृष्ट गोलकिपर र अमृता जैसी उत्कृष्ट डिफेण्डर तथा आर्मीकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर घोषित भइन् । उत्कृष्टहरुले नगद ५०-५० हजार प्राप्त गरे ।

 उषा नाथ : उत्कृष्ट गोलकिपर

सोचेको भन्दा राम्रो प्रदर्शन भयो । यस अवार्डले अझै राम्रो गर्न हौसला दिएको छ । बेस्ट किपर नै हुन्छु भन्ने थिएन । आफ्नो प्रदर्शन राम्रो दिएँ भन्ने लाग्छ । टिमले पनि राम्रो खेल्यो ।

अमृता जैसी :  उत्कृष्ट डिफेन्डर

लिगमा राम्रै प्रदर्शन गरेँ । हाम्रो टिमले पहिलो चरणमा धेरै गोल गर्न सकेन । दोस्रो चरणमा त्यसमा सुधार भयो । टिमले पनि राम्रो खेलेको हो । यस अवार्डले अझै राम्रो गर्न हौसला मिलेको छ । बेस्ट डिफेण्डरको अवार्ड पाउँछु कि भन्ने आश थियो तर कन्फिडेन्ट थिएन ।

विमला चौधरी : उत्कृष्ट मिडफिल्डर

समग्रमा प्रदर्शन राम्रो भयो । मेरो प्रदर्शन पनि राम्रै भयो । मैले बेस्ट मिडफिल्डर पाउँछु भन्ने सोचेको थिइनँ । अन्तिम खेल जित्छौँ भनेर आएको थियौँ । तर आफ्नै गल्तीले गोल खान पुग्‍यौं ।

सावित्रा भण्डारी : उत्कृष्ट फरवार्ड

विगतमा भन्दा यस पटक लिग अलि फरक रह्यो । यसअघि गोल गर्दा गन्द्रयाङ गुन्द्रुङमा गोल गरेको थिएँ । यस पटक क्लियर गोल गरे ।

टिमका अरु साथीहरुको सहयोगले गर्दा नै मैले यतिसम्म प्रदर्शन गरेँ टिमलाई धन्यवाद । म नहुँदा पनि टिमले राम्रो खेलेर मलाई खुशी दिएको छ ।

भगवती थापा : उत्कृष्ट प्रशिक्षक

हामीले १२ वटै म्याच जितेर उपाधि जित्यौँ त्यसमा सन्तुष्ट छौँ । तर उपाधि अली खल्लो पनि भयो । हामीले साम्बालाई चोटका कारण गुमायौँ ।

सरु लिम्बु : सर्वोत्कृष्ट खेलाडी

धेरै समयपछि हामी फुटबलमा ब्याक भयौँ । हामीले लिग अघि ट्रेनिङ गर्दा खासै राम्रो भएको थिएन । लिगमा कसरी राम्रो गर्ने भन्ने चिन्ता थियो । तर लिगको खेलहरुमा राम्रो प्रदर्शन भयो ।

मेरो प्रदर्शन पनि राम्रो भयो । बेस्ट मिडफिल्डर पाउँछु होला जस्तो लागेको थियो । बेस्ट प्लेअर पाउँछु भन्ने सोचेको थिइनँ ।

यो मेरो लागि अनपेक्षित कुरा भयो । यसले जीवनमा अझै राम्रो गर्ने हौसला मिलेको छ । मलाई धेरै मोटिभेट पनि भएको छ । केही गर्नुपर्छ भन्ने थियो त्यसलाई प्रमाणित गरेका छौँ ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment