Comments Add Comment

लकडाउनको बेला महिनामै १० अर्बको मोबाइल व्यापार

८ फागुन, पोखरा । कोरोनाकालमा सबै क्षेत्र ठप्प थिए । तर पृथ्वीचोकमा मोबाइल पसल गर्ने जीवन ढुंगानालाई भने लकडाउन अवधिभर फुर्सद नै भएन । लकडाउन भएको एकडेढ महिनादेखि स्मार्ट मोबाइल खोज्दै आउनेहरु बढेका थिए ।

उनी त एक प्रतिनिधि पात्र मात्रै हुन्, थुप्रै मोबाइल व्यवसायीलाई लकडाउन अवधिमा गर्न भ्याइनभ्याइ थियो । त्यो दबाव डिलर तथा आयातकर्तासम्म पुग्यो ।

‘भएका स्मार्ट मोबाइलको स्टक सकियो । सबै नाका र ˆलाइट बन्द थियो, डिमाण्ड भने बढेको/बढ्यै छ,’ नेपालमा सामसुङ मोबाइल बिक्री गर्दै आएको आइएमस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा भन्छन्, ‘प्लेन चार्टर गरेर मोबाइल भित्रायौं र डिमान्डलाई पूरा गर्‍यौं ।’ मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष मलहोत्राले कोरोनाकालमा स्मार्ट फोन बिक्री उत्साहजनक रहेको बताउँछन् ।

शनिबार नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशको अधिवेशनमा मल्होत्राले कोरोनाकालमा स्मार्ट फोन बढी बिक्री हुनुको मुख्य ३ कारण सुनाए । ‘बोर्डरहरु बन्द भए चोरी पैठारी कम भए । विद्यालयमा अललाइन क्लास सुरु भयो । मासिनसहरु लकडाउनका बेला स्मार्ट फोनमा रमाउन थाले,’ मल्होत्राले भने, ‘कोरोनाकालमा सामान्य फोनलाई स्मार्ट फोनले धेरै बिस्थापित गर्‍यो ।’

लकडाउनको कुनै महिना १० अर्ब रुपैयाँसम्मको मोबाइल बिक्री भएको मल्होत्राले सुनाए ।

सामान्य बेलामा २/३ अर्बको मोबाइल बिक्री हुने भन्दै भने, ‘लकडाउनमा मोबाइल फोनको डिमान्ड एक्कासी बढ्यो । अनलाइनमार्फत माग हुन थाले । हामीसँग भएको स्टक सबै बेचिसकेका थियौं । त्यसपछि चार्टर ˆलाइटमार्फत सामसुङ लगायत धेरै स्मार्ट फोन नेपालमा लकडाउनकै समयमाभित्र्याइयो ।’

गण्डकी प्रदेशमा मात्र कोरोनाकालमा पनि आधिकारिक रुपमा प्रतिमहिना १५ करोड बराबरको मोबाइलको कारोबार भएको मोबाइल वितरक संघ गण्डकीका अध्यक्ष शिव पहारीले बताए ।

‘डिमाण्ड पूरा गर्न ठूलो चुनौति थियो । चीन, भियतनाम, हङकङबाट लगायतका देशबाट मोबाइल ल्याउँथ्यौं,’ अर्का मोबाइल आयातकर्ता सञ्जय मल्होत्राले भने, ‘कोरोनाकालमा व्यापार नगरेको भए अहिले किस्ता तिनै गाह्रो हुने थियो ।’

झण्डै ५० प्रतिशत अवैध मोबाइल

व्यवसायीहरुका अनुसार लकडाउनमा स्मार्ट फोन बिक्री भएको रेकर्ड देखिनुको मुख्य कारण वैध व्यापार हो । आयातकर्ता संघका अध्यक्ष मल्होत्रा भन्छन्, ‘नेपालमा झण्डै ५० प्रतिशत त चोरी-पैठारीका मोबाइल बिक्री भइरहेका छन् ।’

राज्यको विधि मिचेर, भन्सार छलेर ल्याइने मोबाइलले नेपाली बजार कब्जा गरिरहेको मल्होत्राको भनाइ छ । ‘सामसुङ, एमआई जस्ता स्मार्ट फोनहरु एक्टिभेट भएको बेलाको रेकर्ड हेर्दा कहाँबाट बिक्री भएको मोबाइल हो भन्ने देखिन्छ,’ उनले भने, ‘५० प्रतिशत फोन त विधि मिचेर, भन्सार छलेर आइरहेको छ ।’

उनका अनुसार त्यही कारण लकडाउनमा उकालो लागेको मोबाइलको ब्यापार अहिले ओरालो लागेको छ ।

दूरसञ्चार प्राधिकरणको तथ्यांक हेर्ने हो भने स्मार्ट फोन प्रयोगकर्ताको ग्राफ भने बढिरहेको उनी बताउँछन् । मल्होत्राले भने, ‘ मोबाइलको चोरी पैठारी रोकिन सकेको छैन । ग्राहकले पनि कुन चोरी हो, कुन होइन भन्ने बुझ्दैन ।’

मोबाइल वितरक संघ गण्डकीका अध्यक्ष पहारीले पनि चोरीपैठारीका मोबाइल कारोबार गरेको देख्दापनि टुलुटुलु हेरे बस्नुपर्ने बताए । पहारीले भने, ‘पोखरामा पनि फलफूल र तरकारीको गाडीभित्र पनि बट्टामा पनि मोबाइल आउने रहेछ ।’

उपभोक्ताले पनि भ्याट बिल चाहिँदैन, सस्तो मोबाइल दिनुस् भन्ने गरेको उनले सुनाए ।

वडा प्रहरी कार्यालय बैदामकी डिएसपी चिनिमाया तामाङले चोरीका मोबाइल प्रहरीको पनि टाउको दुखाइ बनेको बताउँछिन् । ‘पोखरामा चोरी भएको मोबाइल काठमाडौंमा चल्छ, नेपालमा चोरी भएको मोबाइल भारतमा चलिरहेको हुन्छ । चोरी पैठारी प्रहरीकै टाउको दुखाइ बनेको छ,’ तामाङले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment