Comments Add Comment

बढ्न थाल्यो दोहारी साँझमा चहलपहल

कोरोना भाइरसका कारण गतवर्षको चैत ५ गतेदेखि देशभरका दोहोरी साँझहरु बन्द भए । यसपछि भने लामो समयसम्म दोहोरी साँझहरु सुचारु हुन सकेनन् । सरकारले देशका विभिन्न क्षेत्रलाई क्रमिक रुपमा खुलाउँदै लगेपनि दोहोरी साँझहरु सुचारु गरेको थिएन । अन्य क्षेत्र सुचारु भैसक्दा पनि दोहोरी साँझ नखुलेपछि व्यवसायीहरुले आन्दोलन नै गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । कतिपय व्यवसायीले आफूखुशी दोहोरी साँझ खुलाए पनि प्रहरीले बन्द गरायो । लामो समयको रस्साकस्सीपछि माघ १ गतेबाट सरकारले दोहोरी साँझ खुलाउने अनुमती दिएको थियो ।

अहिले राजधानीसहित देशभरका दोहोरी साँझहरु खुलेका छन् । दोहोरी साँझमा मानिसहरुको चहलपहल पनि बढ्दो छ । ब्यवसायीहरुका अनुसार अहिले दोहोरी साँझमा मानिसहरुको चहलपहल पहिलेकै अवस्थामा फर्किसकेको छ ।

दोहोरी साँझ व्यवसायीहरुको छाता संस्था नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठ भन्छन्–‘दोहोरी साँझमा मानिसहरुको चहलपहल कोरोनाअघिकै अवस्थामा फर्किएको छ ।’

काठमाडौंको ठमेलमा रहेको नगरकोट दोहोरी साँझका संचालक समेत रहेका श्रेष्ठ कोरोना महामारीका कारण लाखौं घाटा व्यहोरेका व्यवसायीहरु अहिले उत्साहित भएका छन् । कोरोनाका कारण बेरोजगार बनेका दोहोरी साँझमा आवद्ध कलाकार (कर्मचारी)हरु अहिले काममा फर्किएका छन् ।

सुन्धारामा रहेको डाँफे दोहोरी साँझका संचालक रवी केसी पनि दोहोरी साँझको चहलपहल पुरानै अवस्थामा फर्किएको बताउँछन् । यद्यपी, दोहोरी साँझमा आउनेहरुले पहिलेजस्तो निर्धक्क खर्च भने नगरेको केसी बताउँछन् ।

‘दोहोरी साँझको चहलपहल पहिलेकै अवस्थामा फर्किएको छ । हामीहरु आशाबादी भएका छौं’ उनले भने, ‘यद्यपी दोहोरी साँझ आउनेहरुले पहिलेजस्तो निर्धक्क खर्च भने गरिरहेका छैनन् ।’ कोरोना महामारीले मानिसहरुलाई निर्धक्क खर्च गर्नमा सोच्न बाध्य बनाएको उनको भनाई छ ।

खुलेका दोहोरी साँझमा मानिसहरुको चहलपहल बढेपनि केही दोहोरी साँझहरु भने अझसम्म खुल्न सकिरहेका छैनन् । लामो समय बन्द हुँदा भाडादेखि अन्य खर्च व्यवस्थापन गर्न नसक्दा कतिपय दोहोरी साँझहरु अझ पनि बन्द अवस्थामै रहेको नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा ८४ दोहोरी साँझ छन् । देशभर दोहोरी साँझको संख्या १ सय ३५ भन्दा बढी छ । दोहोरी साँझमा झण्डै ६ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment