Comments Add Comment

झारफुकको नाममा कुटपिट गरेको आरोपमा धामी पक्राउ

१० फागुन, विराटनगर । बिरामी व्यक्तिलाई झारफुकमार्फत निको बनाउने भन्दै धामीझाँक्रीको समूहले निर्घात कुटपिट गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ का ३३ वर्षीय भीमकाजी गुरुङमाथि धामी झाँक्रीको समूहले कुटपिट गरेको हो ।

घाइते गुरुङ स्थानीय निजी विद्यालयका शिक्षक हुन् । उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारपछि घरमा आराम गरिरहेका छन् ।

सात वर्षअघि उनलाई मानसिक समस्या देखापरेको थियो । ६ वर्षयता नियमित औषधि सेवन गरिरहेका उनलाई झाँक्रीले निको पार्ने भन्दै कुटपिट गरेका थिए ।

विरामीलाई कुटपिट गर्ने झाँक्री पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएका २५ वर्षीय कृष्ण घतानी हुन् । धामी बस्ने क्रममा कृष्णले बारम्बार खुकुरीले भीमकाजीलाई प्रहार गर्न खोजेका थिए । उनीसँगै थान बनाइएको स्थानमा रहेका युवतीहरुले शिक्षकलाई लडाएर मुक्का र लात्ताले प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

झारफुकको नाममा निर्घात कुटपिट गरेपछि पीडित परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले कृष्णलाई पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले घटनामा सात÷आठ जनाको संलग्नता रहे पनि तत्काल पहिचान खुलेका एक जनालाई मात्रै पक्राउ गरिएको र अरुको खोजी भइरहेको जानकारी दिए ।

ताप्लेजुङ घर भएका कृष्ण केही समयदेखि बेलबारीमा बसेर धामीझाँक्रीको काम गर्दै आएको प्रहरीको भनाइ छ । उनले सामाजिक सञ्जाल युट्यूबको प्रयोग गरी बिरामी निको पारिदिने गलत प्रचार गरेर झारफुकका लागि आउनेहरुलाई यातना दिने र आक्रमण गर्ने गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment