Comments Add Comment

जन्मदिनमा पल भन्छन्–‘मानिसको सेवा गर्नु मेरो धर्म हो’

नेपाली चलचित्रका चकलेटी नायक पल शाहले आज आफ्नो ३० औं जन्मदिन मनाए । सन् १९९० फेब्रुअरी २२ तारिखमा दाङमा जन्मिएका पलले ३० औं जन्मदिन चितवनमा पुगेर मनाए ।

चितवनमा आजबाट नै संचालनमा आएको एक आश्रमको पलले उद्घाटन गरे । पलले भने–‘३ महिना अगाडि यहाँ एक आश्रम निर्माणको सुरुवात भएको थियो । अहिले ८० प्रतिशत निर्माण कार्य सकिएको छ । मैले यहाँ आएर आज रिवन काटेर उद्घाटन गरेको हुँ ।’

पलले यो आश्रममा निर्माण भएका २ टहरा आफैले बनाएका हुन् । पलका अनुसार, एक महिना अगाडिबाट नै जन्मदिनमा आश्रमको उद्घाटन गर्ने योजना बनेको हो । बृद्धबृद्धा र बालबालिकासँग जन्मदिन मनाउन पाउँदा अत्यन्त खुशी भएको पलले सुनाए ।

अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै पलले भने–‘कतिपयले मलाई समाजसेवा किन गर्नुहुन्छ भनेर पनि सोध्नुहुन्छ । म खुशीका लागि पनि यो काम गरिरहेको छु । कलाकार भएकै कारणले सामाजिक कार्य गर्नुपर्छ भन्ने होइन । सर्वप्रथम त म मानिस हुँ, मानिसको सेवा गर्नु नै मेरो धर्म हो । मलाई आनन्द आउँछ । कलाकार भैसकेपछि आफ्नो कामले अरुलाई पनि प्रेरणा दिन सक्नुपर्छ । म एक्लैले मात्र यो काम गरेर हुँदैन । अरुले पनि गर्नुपर्छ भन्ने सन्देश दिन पनि म सामाजिक काममा लागेको छु ।’

पलले लकडाउनको समयमा समस्यामा परेका चलचित्र प्राविधिकहरुका लागि ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका थिए । यस्तै, उनी बाढीप्रभावितहरुको सहयोगका लागि कालिकोट, धादिङ पनि पुगेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा ‘नाई नभन्नु ल ४’बाट प्रवेश गरेका पल अहिलेका सर्वाधिक माग भएका नायक हुन् । उनी म्यूजिक भिडियोमा सर्वाधिक व्यस्त पनि छन् । लकडाउनयता मात्र उनले २ सय भन्दा बढी भिडियोमा अभिनय गरिसकेका छन् ।

पललाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment