Comments Add Comment

सेयर बजारमा मौलाउँदो ‘इन्साइडर ट्रेडिङ’

'कारबाही गर्न कानून छैन'

११ फागुन, काठमाडौं । सेयर बजार एउटा जोखिमकै बजार हो । बजारमारे राम्रो ज्ञान भएकाहरुले कमाउँछन् भने हल्लाको भरमा लगानी गर्नेहरुले गुमाउछन् । सामान्यतया घटेको बेला किन्ने र बढेको बेला बिक्री गर्नेहरुले राम्रै कमाउँछन् ।

कतिपय कम्पनीहरुको हल्लैहल्लाका कारण सेयर मूल्य उच्च बिन्दुमा पुग्छ । बजार बढेको देखेपछि सोझा लगानीकर्ताहरुले किन्छन् र त्यसपछि घट्न थाल्छ । जब घट्न थाल्छ, पुँजीको अभाव भएका कारण किनेको भन्दा कम मूल्यमा सेयर बेच्न बाध्य हुन्छन् । अहिले बजारमा खासगरी धेरै बाठाहरुले कमाउने र सोझा लगानीकर्ताहरु घाटामा जाने गरेको सेयर बजारका विष्लेषक प्रकाश तिवारी बताउँछन् ।

केहि हल्लाको भरमा सेयर मूल्य घटाउने वा बढाउनेसम्मका काम हुन्छन् । धेरैले चाहिँ सूचना चुहाएर बजारमा चलखेल गर्ने गरेको विश्लेषक तिवारी सुनाउँछन् । पछिल्लो समय बजारमा सूचना चुहाएर ‘इन्साइडर ट्रेडिङ’ हुने क्रम व्यापकै भएको विश्लेषक तिवारीको दावी छ ।

अब २ वटा उदाहरण हेरौँ, लगानीकर्ताहरु कसरी फस्छन् । पहिलो घटना- केहि साता अघि नेपाल क्रेडिट एण्ड कमर्स बैंक -एनसीसी)को सेयर मूल्यमा एकाएक उल्लास छायो । बैंकको सेयर किन्न लगानीकर्ताहरुको ठूलो समूह देखियो । एनसीसीको सेयर मूल्य अस्वभाविक रुपमा बढे पछि विभिन्न आशंकाहरु भए ।

केहि दिन अघिमात्रै चौधरी समूहका परिवारका सदस्यले यो बैंकको सेयर किनेको विषयलाई लिएर नविल बैंकसँग मर्जरमा जादैछ भनेर चर्चा गरियो । केहि सञ्चारमाध्यममा समेत यस्ता समाचार आउन थालेपछि एनसीसी बैंकको सेयर मूल्य निकै बढ्यो ।

सेयर मूल्य बढ्नु पर्ने केही आधारभूत कारणहरु हुन्छन् । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी भन्छन्, ‘त्यो कम्पनीको मूनाफा कस्तो आयो, यसले कति लाभांश घोषणा गर्छ लगायतका विषयले सेयर मूल्यमा असर गर्छ ।’ एनसीसी बैंकमा मूल्य बढ्ने किसिमका केहि सूचना थिएनन् ।

नेप्सेका एक अधिकारी सेयर मूल्य बढाउनकै लागि केही ठूला लगानीकर्ताहरुले मर्जर सम्बन्धी हल्ला फैलाएको बताउँछन् । यो घटना पछि नेप्सेले बैंकलाई स्पष्टीकरण सोध्यो । बैंकले लाभांश यस अघि नै घोषणा गरिसकेको र मर्जर सम्बन्धी कुनै निर्णय भइनसकेको भन्दै नेप्सेलाई स्पष्टीकरण बुझायो ।

नेप्सेले स्पष्टीकरण सोध्नु अगाडिसम्म ३६४ रुपैयाँमा पुगेको एनसीसी बैंकको सेयर मूल्य त्यसपछि भने घट्न थाल्यो । त्यसपछि ३६४ बाट घटेर १५ दिन अगाडि बैंकको सेयर मूल्य ३११ मा झरेको थियो । यसपछि भने बैंकको सेयर मूल्य आफ्नै लयमा घटबढ भइरहेको छ । बजार घटबढ हुनुलाई सामान्य रुपमा लिने गरिए पनि कुनै दिन अस्वभाविक रुपले बढेपछि नेप्सेले एक्सन लिने गरेको छ ।

दोस्रो घटना- गत ३ जनवरीमा जनउत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १ हजार ८ सय २० रुपैयाँ थियो । यसको सेयर मूल्य लगातार बढिरहेको थियो । जनवरी ३१ सम्म आइपुग्दा २ हजार ६ सय ६६ रुपैयाँ पुगेको यसको सेयर मूल्य भोलि पल्टै (१ फ्रेबुअरी) १ सय ४९ रुपैयाँले बढेर २ हजार ८ सय १५ रुपैयाँ पुग्यो । सोही दिन संस्थाको सञ्चालक समिति बैठकले सयरधनीहरुलाई ४९.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि .६० प्रतिशत नगद गरी ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गर्यो ।

भोलिपल्ट यो सूचना नेपाल स्टक एक्सचेन्जले सार्वजनिक गर्यो, त्यतिबेलासम्म सेयर मूल्य उकालो लाग्न थालिसकेको थियो । ७ फेब्रुअरीसम्म आइपुग्दा यस कम्पनीको सेयर मूल्य ४ हजार १ सय नाघ्यो । यो संस्थाले बम्पर लाभांश घोषणा गर्नु भन्दा पहिले नै धेरैले सेयर खरिद गर्न थालिसकेका थिए । यसमा सूचना चुहाएर ‘इन्साइडर ट्रेडिङ’ गरिएको स्पष्टै देखिएको जानकारहरु बताउँछन् ।

माथिका दुई उदाहरणहरु मध्ये पहिलो कसरी बजारमा चलखेल हुन्छ भन्ने उदाहरण हो । दोस्रो भने इन्साइडर ट्रेडिङको सबैभन्दा गतिलो उदाहरण हो । यी दुई घटना त प्रतिनिधि पात्रमात्रै हुन् । यसरी इन्साइडर ट्रेडिङ पछिल्लो समय नेपालमा बढ्दो मात्रामा रहेको विश्लेषक तिवारी बताउँछन् । जुन गैरकानूनी हो ।

के निर्णय गर्ने भन्ने कुरा संस्थाका सञ्चालक र केही उच्च व्यवस्थापनका कर्मचारीहरुलाई पहिले नै जानकारी हुन्छ । उनीहरुले आफन्त वा नरनाता साथीभाईहरु सम्भावित निर्णयबारे पहिले नै जानकारी गराउने र सेयर किन्न लगाउने गरेका छन् ।

‘आफ्ना नजिकलाई त किन्न लगाउँछन्, लगाउँछन् कतिपयले त आफै पनि किन्न मिल्नेसम्म किन्छन्’ तिवारी भन्छन्, ‘यहाँ त खुलेआम जत्तिकै इन्साइडर ट्रेडिङ भइरहेको छ, तर कारबाही हुन सकेको छैन ।’ नेपाल धितोपत्र बोर्ड वा नेपाल स्टक एक्सञ्चेञ्जले चाहे यो सजिलै पत्ता लगाउन सक्ने विश्लेषक तिवारी बताउछन् ।

तर, यस विषयमा बोर्ड वा नेप्सेले कारवाही गर्न सकेको छैन । नेप्सेमा सूचीकृत सबै कम्पनीहरुले त्रैमासिक रुपमा आफ्नो वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ । सार्वजनिक वित्तीय विवरणका केही सूचकहरुले सेयर मूल्यमा प्रभाव पार्छन । ती प्रभाव पार्ने सूचकहरुको चुहावट पनि पहिले नै हुने गरेको छ ।

‘कुन कम्पनीले कति नाफा कमाउँछ ? कति ईपीएस आउँछ भन्ने कुरा पहिले नै लिक हुन्छ, कम्पनीका सञ्चालक र टप लेभलका व्यवस्थापनका कर्मचारीहरुले खुलेआम सूचना लिक गराएर सेयर किनिरहेका छन्,’ अनाइनखबरसँग उनले भने, ‘सूचना पहिले नै आउनले अहिले देखि नै सेयर किन्न थाल्छ, सूचना सार्वजनिक भएपछि बल्ल नयाँ लगानीकर्ताले सेयर किन्न थाल्छ ।’ सूचना पाउनेले कमाएर बेचिसक्दा बल्ल सर्वसाधारण लगानीकर्ताहरुले किन्ने गर्छन । जसले बाठाले कमाउने र सर्वसाधारण जोखिममा पर्ने खतरा हुन्छ ।

‘५ सयमा किनेको सेयर सूचना पबिलक हुँदासम्म ७ सय पुगिहाल्छ, सूचना पहिले पाउनेले २ सय नाफा बुक गरेर बेच्छ अनि ७ सयमा किन्ने नयाँ मान्छे फस्छ’ तिवारी भन्छन् ।

कुन कम्पनीले केति लाभांश वा के दिन्छ भन्ने कुरा थाहाँ पाए पछि सूचना सार्वजनिक नहुँदै खेलाडीहरुले सेयर उठाउँछन् । जब सूचना सार्वजनिक भएर मूल्य हृवात्तै बढ्छ त्यसपछि भने उनीहरुले सेयर बिक्री गर्ने गरेको उनी बताउछन् । सानो पुँजी भएका कम्पनीहरुमा धेरै जसो सेयर मूल्य घटाउन वा बढाउन चलखेल हुने गरेको उनले बताए ।

‘कानून छैन, कसरी गर्ने कारबाही ?’

कुनै कम्पनीको सेयर मूल्य अस्वभाविक रुपले बढे नेपाल स्टक एक्सचेञ्जले स्पष्टीकरण सोध्ने गरेको छ । एनसीसी बैंक भन्दा पहिले सिभिल बैंकलाई पनि नेप्सेले सेयर मूल्यको विषयलाई लिएर प्रष्टीकरण सोधेको थियो ।

अस्वभाविक रुपले सेयर मूल्य बढेको थाहाँ पाए नेप्सेले सम्बन्धित कम्पनीलाई स्पष्टीकरण सोध्ने गरेको छ । तर, नेप्सेको स्पष्टिकरण पनि केबल प्रक्रिया पुरा गर्नका लागि मात्रै सोधे जस्तो हुन्छ । स्पष्टीकरणको जवाफ पाएपछि नेप्से चुपचाप बस्छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद इन्साइडर ट्रेडिङ गर्नेलाई कारबाही धितोपत्र बोर्डले नै गर्नुपर्ने बताउँछन् । तर कानून अभावका कारण कारबाही हुन नसकेको सीईओ साउदको भनाइ छ । ‘यस सम्बन्धी कानून धितोपत्र बोर्डले ड्राफ्ट गरेको भन्ने सुनेको छु, तर त्यो ऐन बनिसकेको छैन’ उनले भने, ‘कानून नै नभए पछि कारबाही गर्न सहज हुने कुरै भएन ।’

अस्वभाविक रुपले सेयर मूल्यमा प्रभाव परेको महसुश भए नेप्सेले स्पष्टिकरण सोधे पनि त्यसको ‘जिस्ट रुल’ भने नभएको साउदले बताए । अलि कडा कानून भए कारबाही हुने उनको भनाइ छ । कतिपय देशहरुमा इन्साइडर ट्रेडिङ गरेको अभियोगमा आर्थिक पत्रकारहरुलाई समेत कारबाही हुने गरेको भन्दै उनले पुँजी बजारबारे लेख्ने पत्रकारले लगानी गर्नै नपाउनु पर्ने बताए । भारतमै पनि सूचना चुहावट गरे पत्रकारलाई समेत कारबाही हुने सीईओ साउदले बताए ।

प्रमाणित गर्न समस्या छः अध्यक्ष ढुंगाना

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सूचना चुहावट भएको हुनसक्ने स्वीकार गर्छन् । तर इन्साइडर ट्रेडिङ भएको हो भनेर प्रमाणित गर्न नै समस्या रहेको उनले बताए । प्रमाणित गर्नै गाह्रो पर्ने र कमजोर कानूनको फाइदा उठाएर इन्साइडर ट्रेडिङ गर्नेहरुले फाइदा उठाइरहेको अध्यक्ष ढुंगानाको बुझाइ छ । यसका लागि कानूननै दह्रो बनाउनु पर्ने उनले बताए ।

‘यसका लागि ऐन नै दह्रो बनाउनु पर्छ, अहिले ऐन नै छैन’ उनले भने, ‘अरु मुलुकमा जुन किसिमको अख्तियार बोर्डलाई हुन्छ, हाम्रोमा छैन ।’ धेरै मुलुकहरुमा सम्भावित इन्साइडर ट्रेडिङ गर्नेहरुको फोन टेपिङ पनि गर्न सक्छन् । कतिपय मुलुकहरुमा पक्राउ गरेर बोर्डले अनुसन्धान समेत गर्न सक्ने व्यवस्था रहेको छ ।  उनी भन्छन्, ‘यी यावत पावरहरु हुँदा सहज हुने हो, यहाँ त दिएको सूचना लिन पनि पावर छैन ।’

कारोबार डिटेल लिनसक्ने, बैंकबाट स्टेटमेन्ट लिनसक्ने, फोन टेपिङ गर्नसक्ने लगायतका अधिकारहरु हुने हो भने सहज हुने अध्यक्ष ढुंगानाले बताए । उनका अनुसार कतिपय मुलुकहरुमा सम्भावित इन्साइडर ट्रेडिङ गर्नेहरुको गतिविधिबारे निगरानी राख्न प्रहरी परिचालन गर्नेसम्मका अधिकार दिइएको छ । छिमेकी मुलुक भारतमै पनि निकै कडा ऐन रहेको उनले बताए ।

नेपालमा केही पनि अधिकार नभएका कारण रोक्न नसकिएको उनले बताए । नयाँ ऐन बनाउने गरी बोर्डले योजना बनाएको उनले सुनाए ।

अहिले धितोपत्र बजार सम्बन्धी विधेयक संघीय संसदमा छ । प्रतिनिधि सभा विघटन भएपछि सो विधेयक अलपत्र अवस्थामा छ । तर त्यो विधेयकले पनि इन्साइडर ट्रेडिङ नरोक्ने अध्यक्ष ढुंगाना बताउछन् । यसका लागि छुट्टै ऐन चाहिने र बोर्डले आवश्यक तयारी गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment