Comments Add Comment

काठमाडौं प्लाजाको भाडा विवाद : साढे ५ करोड भाडा गुम्ने जोखिम

११ फागुन, काठमाडौं । कमलादीस्थित काठमाडौं प्लाजाको भाडा विवाद टुंग्याउन नेपाल ट्रष्टलाई सकस परेको छ ।

यसअघि प्लाजा सञ्चालनको जिम्मा पाएको कन्सेप्ट डेभलपर्स प्रालिसँग नयाँ सम्झौता भएको छैन भने काठमाडौं महानगरपालिकालाई भाडामा दिने निर्णय पनि कार्यान्वयन हुन सकेको छैन ।

यो अलमल भएको ९ महिनाको अवधिमा करिब साढे ५ करोड रुपैयाँ भाडा गुम्ने जोखिम छ ।

कन्सेप्ट डेभलपर्स र ट्रष्टको विवाद के हो ?

३ असार २०५० मा तत्कालीन राजकीय सम्पत्ति कोष विभागका तत्कालीन सह–सचिव शंकरराज विष्ट र काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिलका सुवासराज काफ्लेबीच वडा–३१ को कित्ता नम्बर २२३५ को पाँच रोपनी २ पैसा जग्गा व्यापारिक प्रयोजनका लागि आधुनिक भवन निर्माण गर्न करारनामा भएको थियो ।

काफ्लेको दायित्व कन्सेप्ट डेभलपर्स प्रालिमा हस्तान्तरण भएपछि  २०६६ पुस २३ गते नेपाल ट्रष्ट ऐन, २०६४ बमोजिम पुरानो करारनामाको अधिनमा रही पुनः करारनामा भएको थियो । त्यतिबेला सो जग्गा पूर्व राजपरिवारको भएकाले नेपाल ट्रष्टको स्वामित्वमा आइसकेको थियो ।

२०६६ पुस २३ गते नेपाल ट्रष्टको कार्यालयका तर्फबाट तत्कालीन उपसचिव टिकाराम घिमिरे र कन्सेप्ट डेभलपर्स प्रालिका तर्फबाट प्रवन्ध सञ्चालक सुनिलभक्त श्रेष्ठबीच सम्झौता पनि भएको थियो । सो सम्झौताको अवधि २०७७ असार २ सम्म थियो ।

सम्झौता सकिने भएपछि कन्सेप्ट डेभलपर्सले प्रतिमहिना ८ लाख दिने गरी नयाँ प्रस्ताव गर्यो । चल्तीको भन्दा कम मूल्य कबोल गरेको भन्दै ट्रष्टले पुनः सम्झौता नगर्ने निर्णय गर्यो ।

त्यसपछि कन्सेप्ट डेभलपर्सले २०७७ जेठ २८ गते मर्मत सम्भारमा ८ करोड खर्च गर्ने र सरकारी मूल्यांकनभन्दा दुई लाख बढी (प्रतिमहिना ६२ लाखसम्म) भाडा बुझाउने नयाँ प्रस्ताव पठायो ।

त्यसबेलासम्म ट्रष्टले भने यो भवन काठमाडौं महानगरपालिकालाई दिने निर्णय मन्त्रिपरिषदबाटै गराइसकेको थियो । काठमाडौं महानगरलाई मासिक ६० लाख भाडामा दिने गरी निर्णय भएको छ ।

बिलखबन्दमा महानगर

तर ट्रष्ट र महानगरबीच अहिलेसम्म सम्झौता भएको छैन । महानगरलाई भाडामा दिने निर्णयविरुद्ध काठमाडौं प्लाजाका व्यवसायी र कन्सेप्ट डेभलपर्स अदालत गएका थिए, जसमा तत्काल सम्झौता नगर्न अन्तरिम आदेश भएको छ । यो मुद्दाको अन्तिम टुंगो भने लागेको छैन ।

अदालतबाट सम्झौता गर्ने खुला गर्ने गरी अन्तिम फैसला आएपनि महानगरका लागि सहज नहुने देखिएको छ ।

किनकी मन्त्रिपरिषदले तेस्रो पक्षलाई भाडामा लगाउन नदिने गरी महानगरलाई भाडामा दिने निर्णय गरेको छ । जबकी महानगरका कर्मचारीहरुको दाउ भवनको आधा हिस्सा भाडामा लगाउने थियो ।

यो भवन भाडामा लिने निर्णय गर्दा पनि महानगरले ११ स्थानमा कार्यालय सञ्चालन गर्दा सार्वसाधारणलाई असहज हुनुका साथै महिनाको २८ लाख बढी भाडा तिर्नु परेकाले प्लाजा भाडामा लिएर आधा आफूले उपभोग गर्ने र बाँकी भाग भाडामा लगाएर ट्रष्टलाई बुझाउनुपर्ने रकम जोहो गर्ने भनिएको थियो । तर मन्त्रिपरिषदले भाडामा चलखेल हुनसक्ने भन्दै भवनको पूर्ण उपयोग महानगरपालिका आफैंले गर्नुपर्ने गरी निर्णय गरेपछि महानगर अप्ठ्यारोमा परेको छ ।

यद्यपि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भवन प्रयोगका लागि आफूहरु तयार रहेको बताउँछन् ।

भवन भाडामा लिनासाथै मर्मतको काम थाल्ने योजना भएपनि मुद्दामामिलाका कारण रोकिएको उनले बताए ।

नेपाल ट्रष्टका सहसचिव भीष्मकुमार भुसालले पनि प्लाजा खाली गराउने तयारी भइरहेको बताउँछन् । ‘कन्सेप्ट डेभलपर्सले एक महिनाभित्रै खाली गराउने प्रतिवद्धता गरेको छ,’ उनले भने, ‘१५ दिनजति समय गुज्रियो, बाँकी १५ दिनभित्र भवन खाली गरिएन भने कानूनी प्रक्रियाअनुसार अघि बढ्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment