Comments Add Comment

प्रचण्ड–माधव प्रधानमन्त्री खोज्दै मैकहाँ आइपुग्न बेर छैन : प्रधानमन्त्री

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना भयो भने मुलुकमा अस्थिरता आउने दाबी गरेका छन् ।

मंगलबार नेकपा ओली समूहसम्वद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई राम्रोसँग थाहा रहेको बताए । यदि संसद पुनर्स्थापना भयो भने प्रचण्ड र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुपर्ने उनले बताए ।

नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले भने, ‘कहिले उत्तरतिर लाग्नुहुन्छ, कहिले दक्षिणतिर लाग्नुहुन्छ र प्रधानमन्त्री भइदिनुस् न, मानिदिनुस् भन्नुहुन्छ । उहाँहरुको कुनै सम्भावना छ प्रधानमन्त्री हुने ? विल्कुल छैन । एक प्रतिशत पनि छैन ।’

उनले अघि भने ‘उहाँहरुले लडाईं जित्नुभयो भने प्रधानमन्त्री खोज्दै हिँड्नु पर्ने हो । खोज्दै हिँड्दा अन्तिममा म कहाँ आइपुग्न बेर छैन ।’

प्रचण्ड–माधव नेपाल बहुमत भएको पार्टी फुटाउने, आफ्नै प्रधानमन्त्री हटाउने र अर्को प्रधानमन्त्री खोज्दै हिँड्ने खेलमा लागेको भन्दै ओलीले भने, ‘त्यस्तो अस्थिरतातिर अदालतले जान दिन्छ होला भनेर म कसरी विश्वास गरुँ ?’

संसद विघटनको बचाउ गर्दै उनले संविधान, संसदीय व्यवस्था र अभ्यासले बहुमतको प्रधानमन्त्रीले सरकार चलाउने वातावरण रहेन भने संसद विघटन गर्न सक्ने बताए ।

उनले समयमा चुनाव हुने भन्दै भ्रममा नपर्न आग्रह समेत गरेका छन् । सूर्य चिह्न समेत आफूहरुकै हुने ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment