
११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल बुधबार अपरान्ह चितवन गएका थिए ।
बिहीबार हुने आमसभालाई सम्बोधन गर्न अध्यक्षद्वय चितवन पुगेका बेला सर्वोच्च अदालतले मगलबार संसद पुनर्स्थापना गर्ने आदेश सुनायो र १३ दिनभित्र संसद अधिवेशन बोलाउन भनेको छ ।
अदालतको आदेशबारे सूचना पाएलगत्तै प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाएका छन् । उनीहरुले कार्यकर्तालाई पनि संसद पुनर्स्थापना भएकोमा बधाई दिएका छन् । बुधबार हुने भनिएकाे कार्यक्रम अब विजयसभामा परिणत हुने भनिएको छ ।
नेपाली जनताको ऐतिहासिक जित
अध्यक्षद्धय नेपाल र प्रचण्डले संवैधानिक इललासले ऐतिहासिक र साहसिक फैसला गरेको बताएका छन् ।दुवै अध्यक्षले नेपाली जनताको जित भएको बताएका छन् ।
चितवनमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘प्रधानन्यायाधीश, संवैधानिक बेञ्चका चारै न्यायाधीशले संविधान लिकमा ल्याउनु भयो । निरंकुशतालाई चोटिलो जवाफ दिनुभयो । साहसिक कदम चाल्नु भएकोमा हाम्रो पार्टी आभार व्यक्त गर्छ ।’
ओलीले तत्काल राजीनामा दिनुपर्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने प्रचण्डले बताए ।चितवनमा समर्थकहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनको चेतावनी छ ।
प्रतिक्रिया 4