Comments Add Comment

माधवनारायणका व्रतालुु चाँगुनारायणमा

फाइल तस्वीर

१२ फागुन, काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका व्रतालुु मंगलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

व्रतालुु आज बिहान चाँगुनारायणस्थित सादहमा स्नान गरी चाँगुनारायणको मूल मन्दिरमा माधवनारायणलाई राखी पूजा आराधना गर्ने परम्परा छ ।

माघ शुक्ल पूणिर्मासम्म चल्ने एक महिना लामो माधवनारायणको व्रतका क्रममा यो तेस्रो तीर्थयात्रा हो । यसअघि पशुपति र दक्षिणकालीको शेषनारायण एवं काभ्रेपलाञ्चोकको पनौतीमा व्रतालुुले तीर्थयात्रा सम्पन्न गरेका छन् ।

माधवनारायणको चाँगुनारायणमा हुने तीर्थयात्रा माघ शुक्ल एकादशीका दिन राति हुने गरेको छ । जसका लागि व्रतालुु मंगलबार राति १० बजेपछि चाँगुनारायण पुगेका थिए ।

माघ शुक्ल द्वादशीका दिन बिहान सादहमा स्नान गरी चाँगुनारायणमा माधवनारायणको रथलाई राखेर पूजा आराधना गरेपछि साँखु गई व्रतालुुले आ-आˆनै घरमा भोजन गर्ने व्रत विधि रहेको साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले जानकारी दिए ।

व्रतालुु चाँगुनारायणबाट आज साँखु फर्किएर घरघरमा भोजन गरिसकेपछि साँखुमा भीमसेन जात्रा गरिन्छ । जात्रा साँखु बजार घुमाउने प्रचलन छ ।

विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए ।

कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी बिना हिच्किचाहट शालीनदीमा आइरहेका छन् । शंखरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरूपमा भक्तजन शालीनदीमा आएको समितिले जनाएको छ ।

माधवनारायण मेलामा विगत वर्षको भन्दा पनि बढी भक्तजनको भीड लागेको छ । माधवनारायण मन्दिर छिर्न चाहने भक्तजनलाई निःशुल्क स्यानिटाइजर र मास्क वितरण गरिएको छ । अन्यत्र आउने भक्तजनलाई भने मास्क र स्यानिटाइजर प्रयोग गर्न माइकिङ गरिएको छ । माधवनारायण मेलाले ऐतिहासिक, सांस्कृतिक र धार्मिक शहर साँखुमा चहलपहल बढेको छ ।

साँखु एवं शालीनदी आउने सार्वजनिक यातायातमा भीड छ । भक्तजन बढी आउने भएपछि यातायातमा दूरी कायम हुने अवस्था छैन । यात्रु कोचाकोच गरेर यात्रा गरिरहेका छन् । पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म साँखुस्थित शालीनदीमा माधवनारायण व्रत हुने गरेको छ । शालीनदी मेला लाग्ने यो समयमा देशका विभिन्न स्थानका साथै विदेशबाट समेत श्रद्धालु भक्तजन साँखु आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment