Comments Add Comment

प्रचण्ड भन्छन्- राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ

१२ फागुन, काठमाडौं । संसद पुनर्स्थापनासँगै दलहरु आन्तरिक रणनीतिमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गर्ने तयारी गरेको छ भने नेकपा प्रचण्ड-माधव नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । यस्तै नेकपा ओली समूहले स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्दैछ ।

सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै १३ दिनभित्र संसद बैठक आह्वान गर्न आदेश दिएपछि नयाँ सत्ता समीकरणबारे चासो बढेको छ ।

यसैक्रममा नेकपा अध्यक्ष प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गरेका छन् । यद्यपि टेलिफोन सम्वादमा बधाई साटासाट मात्र भएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवा बताउँछन् ।

प्रचण्डले यसअघि नै संसद पुनर्स्थापना भए देउवालाई प्रधानमन्त्री स्वीकार्न आफूलाई कुनै आपत्ती नभएको बताइसकेका छन् । त्यसअघि प्रचण्ड र नेपालले देउवालाई भेटेर केन्द्रदेखि प्रदेशसम्म सत्ता साझेदारीको प्रस्तावसमेत गरेका थिए । त्यसैले प्रचण्ड र देउवाबीच अहिले भएको वार्तालाई चासोका साथ हेरिएको छ ।

नेकपा अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्ने अभिव्यक्ति दिएका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतसँग छलफल गरी समझदारीका साथ अघि बढ्ने प्रचण्डको भनाइ छ ।

प्रचण्डले बीबीसी नेपाली सेवासँग भनेका छन्, ‘राष्ट्रिय सहमति बनाउनेतिर मेरो जोड हुन्छ । राष्ट्रिय सहमतिबाट अगाडि नगइकन यो देशले शान्ति, स्थीरता र प्रगति नपाउने देखिइसक्यो । सबै राजनीतिक दलहरुको सहमतिबाट जे हुन्छ, त्यही हुन्छ ।’ उनले आफूले भने प्रधानमन्त्रीमा दाबी नगर्ने बताए ।

चितवनबाट आज काठमाडौं फर्किएलगत्तै दलहरुसँग राष्ट्रिय सहमति बनाउनका लागि छलफल चलाउने प्रचण्डको भनाइ छ । नेकपाको अर्को खेमाको नेतृत्व गरेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत छलफल गर्ने प्रचण्डले बताए । यद्यपि ओलीसँग पार्टी एकता भने नहुने प्रचण्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment