Comments Add Comment

प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्छौं : पम्फा भुसाल

फाइल तस्वीर

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् ।

राजधानी काठमाडौंमा निकालिएको विजय सभालाई सम्बोधन गर्दै भुसालले अलिकति पनि नैतिकता बाँकी रहे तत्काल राजीनामा दिनुपर्ने बताइन् । ‘मैले त हिजै राजीनामा आउँला भनेको सोचेको थिएँ । तर, आएन । अझै पनि अलिकति नैतिकता भए राजीनामा दिएर ठाउँ खाली गरिनुपर्छ’, उनले भनिन् ।

बालुवाटारको स्थायी कमिटीबाट प्रधानमन्त्रीको राजीनामा गर्ने निर्णय आउनेमा आशा गरिन् । तर, अझै पनि हारेको प्रतिगामीले उठ्ने प्रयास गरेमा त्यो दिवा सपना हुने उनले बताइन् । भुसालले राष्ट्रपतिलाई समेत राजीनामा दिन आग्रह गरिन् ।

‘पशुपतिमा गएको सुनेँ । त्यहाँ क्षमा याचना गर्नुभन्दा जनतासँग क्षमा याचना गर्नुहोस्’, उनले भनिन् । जनसंघर्ष समितिका सहसंयोजक भुसालले राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको बताइन् । ‘प्रधानमन्त्रीले संविधानको हत्या गर्ने अनि राष्ट्रपतिले त्यसको टीका लगाउने गर्नुभयो’, उनले भनिन् । राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनुपर्ने उनको भनाइ थियो । विजय जुलुसमा सर्वोच्च अदालत प्रति सम्मान व्यक्त गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment