Comments Add Comment

खाद्य कम्पनी वीरगञ्जले थप ५ हजार क्विन्टल धान खरिद गर्ने

फाइल तस्वीर

१२ फागुन, वीरगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले थप ५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने भएको छ ।

जिरा मसिनो धान किसानले प्रर्याप्त मात्रामा नल्याएपछि थप ५ हजार क्विन्टल सोना मन्सुली धान नै खरिद गर्न लागेको हो ।

यसअघि कार्यालयले ३० हजार क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल जिरा मसिनो धान खरिद गर्ने लक्ष्य पाएको थियो । कार्यालयले सोना मन्सुली धान ३१ हजार २६९ क्विटल खरिद गरिसकेको छ भने जिरा मसिनो धान ११७ क्विन्टल खरिद गरेको छ । कम्पनीले सोना मन्सुली धान प्रतिक्विन्टल २ हजार ८८५ रुपैयाँ तथा जिरा मसिनो धान २ हजार ९ सयमा खरिद गरेको हो ।

पर्सा र बाराका किसानले वीरगञ्जस्थित कम्पनीको शाखा कार्यालयलाई धान बेच्दै आएका छन् । गत वर्ष कार्यालयले २५ हजार क्विन्टल सोना मन्सुली र ३२ क्विन्टल २५ किलो जिरा मसिनो धान खरिद गरेको थियो ।

किसानले जिरा मसिनो धान बेच्न नल्याएकाले लक्ष्य भेट्टाउन नसकेको कार्यालयले जनाएको छ । कम्पनीको केन्द्रीय कार्यालयले जिरा मसिनोको साटो थप ५ हजार क्विन्टल धान खरिद गर्न परिपत्र गरेको शाखा कार्यालय प्रमुख विकास कटुवालले बताए ।

कम्पनीले थप धान खरिद गर्ने जानकारी पाएपछि किसान हर्षित छन् । पर्साको विन्दवासिनी गाउँपालिका, बहुदरमाई नगरपालिका र वीरगञ्ज महानगरपालिकाको ग्रामीण क्षेत्रका किसानले दैनिक ५ देखि ८ ट्याक्टरसम्म धान कार्यालयमा ल्याइरहेका छन् । ‘मध्यम खालका किसान, जो पहिलेदेखि नै कम्पनीसँग कारोबार गर्दै आइरहनुभएको छ, उहाँहरुले धान ल्याइरहनुभएको छ ।’ कार्यालय प्रमुख कटुवालले भने, ‘किसानले धान ल्याएको पछिल्लो अवस्था हेर्दा फागुन २०-२१ गतेसम्ममा लक्ष्यअनुसार धान खरिद भइसक्छ होला ।’

कम्पनीलाई धान बिक्री गर्दा सरकारी दरमा बिक्री गर्न पाउने र रकम पनि तुरुन्त पाइने भएकाले किसानको आकर्षण बढी छ । पछिल्लो समय धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय रुपैयाँसम्म पुगेको छ ।

यो पनि पढ्नुहोस समर्थन मूल्यमै धान बिक्री गर्न पाउँदा किसान हर्षित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment