
१३ फागुन, काठमाडौं । भेनेजुयलाले युरोपेली संघ (ईयू)की राजदूतलाई ७२ घण्टाभित्र मुलुक छाड्न बुधबार अल्टिमेटम दिएको छ ।
ईयूले भेनेजुयलाका शीर्ष पदाधिकारीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि भेनेजुयलाले यस्तो कदम चालेको हो । बुधबार भेनेजुयलाका विदेशमन्त्रीले ईयूकी राजदूत इसाबेल ब्रिल्हन्ट पेड्रोस्कालाई ७२ घण्टामा मुलुक छाड्न आदेश दिइएको बताए ।
ईयूकी प्रवक्ता नबिला मासारालीले भेनेजुयलाको निर्णयमा दुःख व्यक्त गर्दै यो निर्णयले भेनुजयलालाई अझै एक्ल्याउने बताएकी छिन् । उनले यो निर्णय तत्काल सच्याउन पनि आग्रह गरेकी छिन् ।
‘भेनेजुयलाले अहिले जारी संकट वार्ताको माध्यमबाट मात्र समाधान गर्न सक्छ, यसका लागि ईयू पूर्णरुपमा प्रतिबद्ध पनि छ । तर, यो निर्णयले भने वार्तालाई प्रत्यक्षरुपमा अवमूल्यन गरेको छ’, मासारालीले भनिन् ।
यसअघि मंगलबार भेनेजुयलाको राष्ट्रिय सभाले सरकारलाई ईयूका राजदूतलाई हटाउन सिफारिस गरेको थियो ।
सोमबार ईयूले प्रजातन्त्रको अपमान गरेको र मानव अधिकार उल्लंघन गरेको भन्दै १९ भेनेजुयलाका पदाधिकारीमाथि प्रतिबन्धको निर्णय गरेको थियो । हालसम्म ईयूले प्रतिबन्ध लगाएका भेनेजुयलाका पदाधिकारीको संख्या ५५ पुगेको छ ।
प्रतिक्रिया 4