Comments Add Comment

बास्तोला मृत्यु प्रकरण : साथी कारागार चलान, होटल सञ्चालक धरौटीमा छुटे

१३ फागुन, विराटनर । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईमध्ये एकजनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

हत्या आरोपमा बास्तोलाका साथी मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अर्का आरोपी उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई भने तीन लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

गत पुस ५ गते बास्तोलाको शंकास्पद अवस्थामा मृत्यु भएको थियो । आफन्त र स्थानीयबासीको आन्दोलनपछि मंगलबार प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो ।

बिहीबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले पुर्पक्षका लागि एकजनालाई थुनामा र अर्का एकजनालाई धरौटीमा छाड्ने आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले बताए ।

दर्जी मृतक बास्तोलाका साथी हुन् भने राई होटल सञ्चालक हुन् । मृत्युको अघिल्लो रात राईसँग बास्तोलाको विवाद भएको थियो ।

उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय बास्तोलाको गत पुस ५ गते शङ्कास्पद मृत्यु भएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले हत्या आरोपमा उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेली, रतुवामाई नगरपालिका–१० का २९ वर्षीय रिकेश शिवा भन्ने मेहरमान दर्जी, उर्लाबारी–६ का १९ वर्षीय सुदीप परियार, गौरादह नगरपालिका–९ का ३१ वर्षीय दीपेश पौडेल, उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरी र उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई विरुद्ध मुद्दा दायर गरेको थियो ।

राई र दर्जी बाहेक चार जनालाई यसअघि प्रहरीले पक्राउ गरी २५ दिन हिरासतमा राखेर छाडेको थियो । गत माघ २ गते हाजिरी जमानीमा छुटेकाहरु भागेपछि प्रहरीले चारजनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

आन्दोलन उर्लिएपछि मात्रै मुद्दा दर्ता

गत पुस ५ गते शंकास्पद मृत भेटिएपछि आफन्तले हत्या भएको दाबी गरे । तर सुरुमा प्रहरीले हत्या भएको आधार नदेखिने बतायो ।
हत्याको दाबीसहित जाहेरी परेपछि प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझायो । तर कार्यालयले गत माघ २ गते प्रमाण नपुग्ने भन्दै पुनः अनुसन्धान गर्न फाइल फिर्ता पठाएपछि हत्या आशंमा पक्राउ परेकाहरु हाजिरी जमानीमा छुटेका थिए ।

मृतक लागूऔषध प्रयोगकर्ता भएको र प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलन सुरु भएका कारण अनुसन्धानमा प्रहरीले घटनालाई उच्च प्राथमिकता दिएको थिएन । तर आरोपी छुटेपछि प्रहरीप्रति आशंका गर्दै आफन्त असन्तुष्ट बने । आइतबार मिसिलमा मृतकको फोटो नै परिवर्तन भएको भेटिएपछि मृतककी बहिनी सदीक्षाले सामाजिक सञ्जालमा लाइभ गरिन् ।

उनको फेसबुक लाइभ भाइरल बनेपछि सोमबार उर्लाबारी र मंगलबार विराटनगरमा प्रदर्शन गरे । प्रहरीको भूमिका शंकास्पद देखिएको भन्दै आफन्तले नाराबाजी गरेपछि मंगलबार नै जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

‘पोष्टमार्टमले हत्या देखिन्छ’

प्रहरीले प्रवीणको हत्या भएको देखिएको दाबी गरेको छ । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले पोष्टमार्टम रिपोर्टले बास्तोलाको हत्या भएको देखिएको जानकारी दिए ।

पोष्टमार्टम रिपोर्टमा भ्वाइलेन्ट एपेक्सिया देखाएकाले हत्या भएको दाबीसहित ६ जना विरुद्ध मुद्दा दर्ता भएको उनले बताए । प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा आन्दोलन भएपछि आरोपी चारजना फरार भएको उनले बताए ।

उनका अनुसार मृत्युको अघिल्लो दिन होटल सञ्चालक राईसँग प्रवीणको विवाद भएको र मध्यरातमा मोबाइलबाट ब्यालेन्स ट्रान्सफर भएकोलगायतका घटनाले हत्याको आधारहरु देखिएको छ । पोष्टमार्टम र भिसेरा रिपोर्ट आउन समय लागेकाले सुरुमा पक्राउ परेका चारजनालाई सरकारी वकिलको कार्यालयको निर्देशनपछि छाडिएको उनको भनाइ छ ।

‘सुरुमा जाहेरी पनि ढिलो आयो, शंकास्पदलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गर्‌‍याै‌’ उनले भने, ‘२५ दिनभन्दा बढी आरोपीलाई थुन्न मिल्दैन्, अस्पतालको रिपोर्ट ढिलो भएका कारण आरोपीलाई हाजिरी जमानीमा छाड्न पर्याे, रिपोर्ट आएपछि कर्तव्य ज्यान मुद्दा दर्ता गरेका छौं ।’

प्रहरीले अनुसन्धानमा त्रुटि नगरेको प्रहरी उपरीक्षक खड्काले बताए । मिसिलमा प्रवीणलाई जनाउने धेरै प्रमाण रहेकाले एउटा फोटो परिवर्तन भएको विषयले ठूलो अर्थ नराख्ने उनले बताए । प्रहरीको अनुसन्धानका विषयमा छानबिन गर्न प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा टोली गठन गरेको भन्दै उनले टोलीको प्रतिवेदनपछि गलत गरेको देखिए कारबाही गरिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment