Comments Add Comment

बालाजु बाइसधारामा स्थानीयमाथि दमन गर्नु प्रतिगमन हो : वृहत नागरिक आन्दोलन

१३ फागुन, काठमाडौं । वृहत नागरिक आन्दोलनले काठमाडौंको बालाजु बाइपासमा जारी सडक विस्तारविरुद्ध संघर्षरत पीडित र अभियन्ताहरूलाई बुधबार गिरफ्तार गरेकामा विरोध जनाएको छ ।

सर्वोच्च अदालतले केन्द्र सरकार, स्थानीय सरकार, जनप्रतिनिधि र उपत्यका विकास प्राधिकरणले गरेको सडक विस्तार रोक्का गर्न दिएको अन्तरिम आदेशको बेवास्ता गर्ने तथा उल्टै पीडित र अभियन्तामाथि दमन गर्ने काम गरेको भन्दै नागरिक अभियानले विरोध जनाएको छ ।

सडक विस्तारको नाममा निजी घरहरूमा डोजर लगाउने, स्वबासीहरूलाई उठिबास गर्ने र न्यायिक आवाज उठाउनेहरूमाथि दमन गर्ने क्रम जारी राखेपछि बालाजु बाइसधारा क्षेत्रका बासिन्दा र अभियन्ताहरूले संघर्ष गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारी भवन बनाउन बारिएको जस्ताको बार भत्काएको निहुँमा स्थानीय वासिन्दा मीन शाही, महेश्वर मानन्धर, संजय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ, रूक्षित श्रेष्ठसँगै अभियन्ता सुमन सायमि र विरोचन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त, बालाजुले गिरफ्तार गरेकामा बृहत नागरिक आन्दोलनले विरोध जनाएको छ ।

‘विकासको नाममा भएको गैरन्यायिक सडक विस्तार, संविधानले मौलिक हकको रुपमा प्रत्याभूत गरेको निजी सम्पत्तिसम्बन्धी हक–अधिकारको हनन, पीडितहरूमाथि निरन्तर दमन र अभियन्ताहरूको गिरफ्तारी आफैंमा प्रतिगमन हो’ विज्ञप्तिमा भनिएको छ ।

त्यसमाथि प्रहरी वृत्तभित्र पीडितहरू र अभियन्ताहरूलाई आफ्नो मातृभाषा, नेपालभाषामा कुराकानी गरेकै आधारमा कुटपिट गर्नु, गालीगलौज गर्नु र मुद्दा चलाउन निहुँ बनाउनु गैरसंवैधानिक र गैरलोकतान्त्रिक काम भएको बृहत नागरिक आन्दोलनले उल्लेख गरेको छ ।

नागरिकहरूको मातृभाषामा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिँदै पीडित र अभियन्ताहरूलाई तुरुन्त रिहा गर्न सरकारसँग माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment