Comments Add Comment

बाराको देवताल गाउँपालिका कार्यालय नयाँ भवनमा

१४ फागुन, वीरगञ्ज । बाराको देवताल गाउँपालिकाको कार्यालय नयाँ भवनमा सरेको छ । हाल गाउँपालिका कार्यालय रहेको भवन सेवा प्रवाहका लागि साँघुरो भएपछि नयाँ भवन बनाइएको देवताल गाउँपालिकाका अध्यक्ष चन्दन सिंहले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाको प्रशासनिक भवन तथा कम्पाउन्ड वाल निर्माणका लागि दुईवटा उपभोक्ता समितिले काम गरेको छ । भवन निर्माण उपभोक्ता समितिले ८३ लाख ३८ हजार ८ सय ८२ रुपैयाँ र कम्पाउन्ड वाल तथा शौचालय निर्माण उपभोक्ता समितिले २९ लाख ४५ हजार रुपैयाँ रकम बुझेका छन् । भवन, शौचालय तथा कम्पाउन्ड वालको काम २०७५–०७६ देखि नै सुरु भएको र १ करोड ४० लाख रुपैयाँ जति खर्च भएको गाउँपालिका अध्यक्षका स्वकीय सचिव अब्बास मियाँले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष सिंहका अनुसार कार्यालय सञ्चालनमा आएपनि भवन निर्माण कार्य पूरा भइसकेको छैन । भवनको माथिल्लो तल्ला निर्माणका लागि टेन्डर खोल्ने तयारी भइरहेको छ । ‘साढे ७ कठ्ठा ऐलानी जमिन थियो, त्यसलाई खाली गरेर कार्यालय कम्पाउन्ड वाल लगाएर शौचालय सहितको कार्यालय भवन बनाएका छौं । अढाइ कठ्ठामा भवनको संरचना छ’ उनले भने, ‘गाउँपालिकाको केन्द्र पिप्राढीगोठ भएपछि साविकको गाविस कार्यालय भवनमा नै कार्यालय सञ्चालन गरिरहेका थियौं, एकदमै साँघुरो भएकाले नयाँ भवन बनाएका हौं ।’

देवतालका स्थानीय दंग

साँघुरो गाउँपालिका कार्यालयमा सेवा लिन जाँदा सास्ती खेपेका देवतालका बासिन्दा नयाँ कार्यालय भवनबाट सेवा पाउने भएपछि दंग छन् । स्थानीय शेषनाथ महतोले खुल्ला ठाउँ र कम्पाउन्ड वालसहित कार्यालय बनेको देखेर खुसी लागेको बताए ।

‘पुरानो कार्यालयमा आउने जाने, बस्ने सेवा लिने ठाउँ थिएन, घर सानो थियो, भीड धेरै हुन्थ्यो’ उनले भने, ‘सरकारी गाडी राख्नसमेत समस्या थियो, अब कम्पाउन्ड सहितको कार्यालय छ, गाडी राखेर ताल्चा लगाइदिँदा हुन्छ ।’

स्थानीय पुरन रामले बल्ल नयाँ भवन बनेपछि गाउँमै सिंहदरबार आएको महसुस भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment