Comments Add Comment

सैनिक गुप्तचरी नौलो र अनौठो विषय होइन : सैनिक प्रवक्ता पौडेल

१४ फागुन, काठमाडौं । नेपाली सेनाले गुप्तचरी संयन्त्र विस्तार गर्नु राष्ट्रिय सुरक्षाका दृष्टिले आवश्यक र महत्वपूर्ण काम भएको बताएको छ ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रभावकारी सूचना संयन्त्र भएमा राष्ट्रिय सुरक्षामाथिको खतराहरुको आकलन गर्न र त्यसअनुसारको पूर्वतयारी गर्न सकिने बताए ।

शुक्रबार न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले सैनिक गुप्तचरीको विषय सेनाको नियमित काम भएको बताए । ‘सैनिक गुप्तचरी (मेलिटिरी इन्टेलिजेन्स) कुनै नयाँ, नौलो, अनौठो विषय होइन । प्रत्येक सेनाले आफ्नो अपरेसनल तयारीको लागि नियमित रुपमा गर्ने विषय नै हो’ उनले भने ।

सेनाले स्थानीय तहसम्मै सैनिक गुप्तचरी विस्तार गर्ने खबर सार्वजनिक भएपछि सरकारले गुप्तचर निकाय र सेनाबीच अन्तरविरोध हुनसक्ने चर्चा भएको थियो । तर सेनाले त्यसको खण्डन गरेको छ ।

सेनाले प्रभावकारी सूचना संकलन गर्न नसकेमा मुलुकले नै क्षति व्यहोर्नुपर्ने स्थिति आउने पौडेलले बताए । ‘सेनाले गर्ने भनेको दूरगामी प्रकृतिका सुरक्षा चुनौनीहरुलाई मध्यनजर राखेर सूचना संकलन गर्ने हो । जबजब सूचना सामूहिक रुपमा र प्रभावकारी ढंगले हामीले सङ्कलन गर्न सक्दैनौं तबतब राज्यले क्षति बेहोर्नुपरेको अवस्था हामीले देखेका छौं’ उनले भनेका छन् ।

सेनाको सुरक्षा संयन्त्र प्रभावकारी भएमा अन्तिममा राष्ट्रिय सुरक्षा सुदृढिकरण हुने पौडेलले बताए । राज्यका अरु निकायले पनि सूचना संकलन गर्ने भए पनि सबै निकाय आआफ्नो संवैधानिक दायित्व अनुसार चल्ने भएकाले अन्तरविरोध नआउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment