Comments Add Comment

सर्वोच्चको फैसलापछि देश राजनीतिक संकटमा : मन्त्री भट्ट

१४ फागुन, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सर्वोच्च अदालतको फैसलापछि राजनीतिक संकटमा देश गएको बताएका छन् । तर उनले फैसलाको कार्यान्वयनमा सरकार जाने बताए ।

हेटौंडाको मयुरधापमा स्थापना भएको मयुरधाप औद्योगिक क्षेत्रको बुधबार शिलान्यास गर्दै मन्त्री भट्टले सर्वोच्च अदालतको फैसलाले देशमा फेरि राजनीतिक संकट र अस्थिरता पैदा गरेको दाबी गरे । प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावको षड्यन्त्र चिर्न बाध्य भएर संसद विघटन गरेको उनको जिकिर छ । मन्त्री भट्टले सर्वोच्चको फैसलालाई सरकारले कार्यान्वयन गर्दै संसदमा भिड्न तयार रहेको पनि बताए ।

‘वर्तमान सरकार संसदमा जस्तोसुकै चुनौतीसँग भिड्न तयार छ’ उनले भने । नेकपा एकताको सम्भावनाको प्रसंगमा मन्त्री भट्टले त्यसका लागि ढोका बन्द नगरिएको बताए । प्रचण्ड-माधव पक्षका सांसदले आत्मआलोचना गरेर आएमा स्वागत गर्ने उनको भनाइ छ ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारका उद्योगमन्त्री भट्टसँग प्रदेश सरकारको अधिकार कटौतीको विषयमा गुनासो गरेका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले औद्योगिक क्षेत्र प्रदेशलाई हस्तान्तरण नगरेकोमा गुनासो गरे ।

दुई सय विघामा औद्योगिक क्षेत्र

हेटौंडा उपमहानगरपालिका वडा नं. १३ र १४ स्थित करिब २ सय विघा क्षेत्रफलमा नेपाल सरकारको स्वामित्वमा मयुरधाप औद्योगिक क्षेत्र स्थापना भएको हो । उक्त औद्योगिक क्षेत्र हेटौंडामा स्थापना हुने दोस्रो औद्योगिक क्षेत्र भएको छ ।

औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माणका लागि करिब ७ अर्ब २ करोड ३४ लाख लाग्ने अनुमान गरिएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment