Comments Add Comment

एक वर्षपछि पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्दै नेपाल

१३ फागुन, काठमाडौं । नेपाल एक वर्षपछि पर्यटन प्रवर्द्धनका लागि भौतिक रुपमै अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनमा जाने भएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा भारतको दिल्ली र मुम्बईमा भौतिक रुपमै उपस्थित भई दक्षिण एसियालीस्तरको ट्राभल मार्टमा भाग लिने निश्चित भएको छ ।

कोरोना भाइरसको महामारीका बीच अघिल्लो वर्षको चैतबाट विदेशमा पर्यटन प्रवर्द्धनको कार्यक्रम रोकिएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीका अनुसार जुन मुलुकले पर्यटन प्रवर्द्धनका अभियान शुरु गरेका छन्, ती मुलुकमा अब भौतिक रुपमै उपस्थित भई प्रवर्द्धन अभियान प्रारम्भ गरिने भएको छ ।

यस दौरान नेपालले परम्परागत उत्पादनका साथै महामारीपछि पनि घुमफिरका लागि सुरक्षित रहेको सन्देश प्रवाह गरिने उनको भनाइ छ ।

दिल्ली र मुम्बईपछि सिलिगुडीमा समेत नेपालले भौतिक उपस्थितिमै प्रवर्द्धन गर्नेछ । यसरी हुने प्रवर्द्धनमा बोर्ड र निजी क्षेत्रका व्यवसायीले आफ्नो स्टल राखेरै नेपाल भ्रमणमा पर्यटकलाई आहृवान गर्छन् । यसबाहेक व्यवसायीबीच विजनेश डिल समेत यस मौकामा हुने गर्छ । यो वर्ष भारतीय शहर -दिल्ली, बैंकलौर, कोलकत्ता, मुम्बई, चेन्नाई, हैदरावादलगायत शहरमा प्रवर्द्धन गर्न बोर्डले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

अहिले नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायी नेपालमा आउन चाहने पर्यटकलाई सरकारले लगाएको कडा प्रावधान खुकुलो बनाउनु पर्ने अभियानमा छन् ।

मुलुकभित्र सरकारकै आहृवानमा हजारौं मानिसको भेला गर्दा सामाजिक दूरीको खिल्ली उडाएको तर पर्यटक आगमन रोकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

अहिले नेपालमा पर्यटकको अनअराइभल भिसा रोकिएको छ । नेपाल आउन चाहेमा पर्यटन मन्त्रालयको सिफारिस चाहिन्छ । ५ हजार डलर बराबरको कोरोना बीमा नभएसम्म नेपाल आउन पाइदैन । नेपाल आइसकेपछि ७ दिन अनिवार्य क्वारेन्टिनको प्रावधान राखिएको छ ।

भारतपछि बंगलादेश र चीनमा समेत प्रवर्द्धनको योजना रहेको सीइओ डा. रेग्मीले बताए । यद्दपी चीनले भने आफ्ना नागरिकलाई घुमफिरमा सहज वातावरण बनाएको छैन ।

अब सम्भव भएसम्म भौतिक रुपमै उपस्थित भई नेपाल भ्रमणप्रति पर्यटकलाई उत्प्रेरित गर्ने योजना रहेको उनले बताए । लामो समयदेखि आगमन शून्यको अवस्थामा रहेको नेपाल पर्यटनले अर्थतन्त्रमा अप्रत्यक्ष ठूलो योगदान गरेको भन्दै यसलाई उकास्नुको विकल्प नरहेको उनको भनाइ छ ।

युरोपेली मुलुकमा भने प्रवर्द्धन कठिन

कोरोना भाइरसको दोस्रो प्रकृति देखा परेका मुलुकहरुमा भने तत्कालका लागि भौतिक रुपमै उपस्थितिको सम्भावना टरेको छ ।

बोर्डका सीइओ रेग्मीका अनुसार जर्मनीमा आयोजनामा हुने संसारको सबैभन्दा ठूलो ट्राभल मार्ट आइटीबी बर्लिन अनलाइनमा सिमित हुने भएको छ । स्पेनको अर्को ठूलो मार्ट समेत हुने-नहुने निश्चित छैन । नेपाल पर्यटन बोर्डको अगुवाईमा हरेक वर्ष तीन दर्जन भन्दा बढी ट्राभल मार्टमा भौतिक रुपमै उपस्थित भई प्रवर्द्धन हुने गरेको थियो ।

प्रवर्द्धनात्मक भ्रमण गराउन संचारमाध्यम बोलाइने

यता, नेपाल भित्रका गन्तब्यको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि भने बोर्डले संचारमाध्यम र पत्रकारलाई नेपाल भ्रमणमा ल्याउने भएको छ । बिबिसीसहित संसारभर कभरेज फैलिएका संचारमाध्यमबाट ट्राभल पिर्ाेटिङ गर्ने संचारकर्मीलाई नेपालमा प्रवर्द्धनात्मक भ्रमण गराइने भएको छ । यसका माध्यमबाट कम खर्चमा ठूलो मिडिया कभरेज हुने र मुलुक भित्र समेत पर्यटन क्रमशः चलायमान हुने सीइओ रेग्मीले बताए ।

‘आन्तरिक गन्तव्यमा व्यवसायी नै घुमौं’

अन्तर्राष्ट्रिय बजारबाट पर्यटक नआएको अवस्थामा आन्तरिक भ्रमण प्रवर्द्धन गर्न सरकारबाट व्यवसायी र बोर्डले दुई महत्वपूर्ण घोषणाको अपेक्षा गरेका थिए, एउटा सरकारी, संस्थान तथा निजी क्षेत्रका कर्मचारीलाई बिदा पर्यटनमा पठाउने, अर्को सातामा दुई दिन बिदा ।

पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले यसका लागि पहल गरिरहेका थिए । उनको राजिनामापछि पर्यटनमा आएका भानुभक्त ढकाल भने यी दुबै कार्यक्रम अगाडी बढाउने पक्षमा छैनन ।

यो मनोविज्ञान बुझेको बोर्डले अहिले व्यवसायी तथा सरोकारवाला आफै गन्तब्यमा घुमफिर गरी आत्मविश्वास बढाउन पहल गरिरहेको सीइओ डा. रेग्मीले बताए । ‘महामारीजस्तो समयमा घुमफिर सहज छ भन्ने सन्देश दिन पनि व्यवसायी र सरोकारवाला घुम्नु पर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment