Comments Add Comment

झापामा पहिलो रबर उद्योग सञ्चालनमा आउँदै

१५ फागुन, काठमाडौं । नेपालमा रबर खेती सुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कन्काई नगरपालिका–७ मा २० करोड रुपैयाँको लगानीमा स्थापित कन्काई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ ।

२०४६ सालमा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । शनिश्चरेका जयप्रसाद ढकाल र उनको परिवारले पाँच हेक्टर जग्गामा पहिलोपल्ट रबर खेती गरेका हुन् । हाल झापा, मोरङ र सुनसरीमा करिब ७ सय हेक्टरमा रबरको खेती भइरहेको छ । रबरको खेती फस्टाउँदै गएपछि स्वदेशमै उद्योग सञ्चालनको आवश्यकता महसुस गरी काठमाडौं र झापाका लगानीकर्ताले साझेदारीमा कन्काई रबर इन्डस्ट्रिज स्थापना गरेका हुन् ।

डेढ बिघा जग्गामा फैलिएको रबर उद्योगले यसै वर्षदेखि किसानले उत्पादन गरेको रबरको चोप खरिद गर्ने जनाएको छ । उद्योगले प्रतिघण्टा एक हजार लिटर रबरको चोप प्रशोधन गर्ने भएको छ । किसानबाट खरिद गरेको रबरको चोपलाई आधुनिक मेसिनमा प्रशोधन गरी पहिलो चरणमा जुत्ता चप्पलमा प्रयोग हुने सुलेसन (टाँस्ने पदार्थ) र रबर सोल उत्पादन गरिने सञ्चालक बालकृष्ण सापकोटाले बताए ।

नेपालमा सयौंको संख्यामा रहेका जुत्ता चप्पल उद्योगले यहाँबाट उत्पादित सुलेसन र सोल प्रयोगमा ल्याउने सञ्चालकको अपेक्षा छ । हालसम्म ती उद्योगले यस्तो पदार्थ भारतको केरला, भियतनाम र थाइल्यान्डबाट आयात गर्दै आएका थिए ।

दुई महिनापछि सुलेसन र सोल उत्पादन थालिने सञ्चालक सापकोटाको भनाइ छ । त्यसपछि दोस्रो चरणमा मेडिकल क्षेत्रमा प्रयोग हुने ग्लोब्स र घरायसी प्रयोगमा आउने म्याट उत्पादन गर्ने उद्योगको लक्ष्य रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment