Comments Add Comment

संसदमा एउटै लाइनमा बस्नेछन् प्रचण्ड–माधव र ओली समूहका सांसद

१६ फागुन, काठमाडौं । सर्वोच्चको आदेश अनुसार अब बस्ने संसद बैठकमा यसअघि सामान्य लाग्ने दृश्य अब नौलो रुपमा देखिनेछ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी औपचारिक रुपमा विभाजन नभए पनि अहिले केपी ओली समूह र प्रचण्ड– माधव समूह बेग्लाबेग्लै रुपमा सक्रिय छन् ।

तर संसदमा भने उनीहरु संगै बस्नुपर्नेछ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु एकै लाइनमा बस्नेछन् । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

कानुनी रुपमा नेकपा विभाजित नभएकाले संसद सचिवालयले कुर्सीको व्यवस्थापन गर्दा नेकपाका सांसदहरु सत्तापक्षकै लाइनमा बस्ने गरी मिलाएको छ । ‘दल विभाजन भएको जानकारी छैन । कसरी फरक फरक लाइन भनेर मिलाउनु ?’ प्रवक्ता पाण्डेले भने ।

स्रोतका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले संसद सचिवालयलाई सत्तापक्षका सांसदहरुसमेत फरक फरक लाइनमा बस्ने गरी व्यवस्थापन गर्न आग्रह गरेका थिए । तर, सचिवालयले त्यसअनुसार व्यवस्थापन गर्न नसकिने जवाफ सभामुखलाई दिएको छ ।

बरु सत्तापक्षका सांसदहरु एउटै लाइनमा बस्दा हुन सक्ने सम्भावित असहजतालाई जानकारीमा राखेरसुरक्षा व्यवस्था र अन्य प्रबन्ध मिलाइएको सचिवालयले जनाएको छ ।

खोप लगाएकालाई मात्रै संसद भवनमा प्रवेश

संसद बैठक सुरु हुनुअघि सांसद र संसद सचिवालयका कर्मचारीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउनुपर्नेछ ।

खोप लगाएकाबाहेक अन्यले संसद भवनमा प्रवेश नपाउने प्रवक्ता पाण्डेले बताए । सांसद र संसद सचिवालयका कर्मचारीलाई फागुन १९, २० र २१ गते निजामती कर्मचारी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको पाण्डेले बताए ।

खोप लगाए पनि संसद हलभित्र कोरोना महामारीविरुद्ध स्वास्थ्य सुरक्षाको मापदण्ड पालना हुने संसद सचिवालयले जनाएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन र हलको सरसफाइ, कुर्सी व्यवस्थापन लगायतका काम सकिएको छ । बैठक कक्षका हरेक कुर्सीहरुलाई सफा गरेर डिसइन्फेक्टेड गरिएको प्रवक्ता पाण्डेले बताए ।

बालकोनी खाली

अब प्रतिनिधिसभा बैठक सञ्चालन हुँदा दर्शकदीर्घा (बालकोनी) खाली हुनेछ । ‘प्रत्यक्ष प्रसारण भएपछि किन आउनुपर्यो र दर्शक ?’ सचिवालयका प्रवक्ता पाण्डेले भने ।

संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आफ्नो युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण गर्ने गरेको छ ।

सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्दा बाल्कोनीमा पनि सांसदहरु बस्नेछन् । कोरोना भाइरसको महामारीअघि बालकोनीमा आगन्तुक, कूटनीतिज्ञ र पत्रकार बस्ने गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment