+
+
Shares

सरकारका प्रवक्ता भन्छन् : विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १८ गते १३:२१

१८ फागुन, काठमाडौं । सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।

उक्त समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन भएको जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिबन्ध फुकुवा गर्ने बताएका हुन् ।

प्रतिबन्ध फुकुवा भएपछि विप्लव समूह शान्ति प्रक्रियामा आउने मन्त्री गुरुङले विश्वास व्यक्त गरे ।

मन्त्री गुरुङले नेपाल सरकार र विप्लव समूहबीच छिट्टै वार्ताको प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे । ‘नेपाल सरकारले यो वार्ता टोली बनाइसकेपछि विप्लव समूहबाट पनि वार्ता टोली गठन गरेर छिटोभन्दा छिटो वार्ता हुने छ भन्ने हामी विश्वास व्यक्त गर्दछौं,’ मन्त्री गुरुङले भने । उनले सबैलाई शान्ति प्रक्रियामा ल्याउने नेपाल सरकारको स्पष्ट दृष्टिकोण रहेको बताए ।

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा र उनीहरुको हतियार व्यवस्थापनबारे सोधिएको प्रश्नमा मन्त्री गुरुङले ती सबै विषय वार्ताबाटै टुंगिने बताए । ‘उहाँहरुप्रति लागेका मुद्दाहरु, उहाँहरुका हतियारको कुरा, यी सबैको प्रक्रिया टुंगोमा पुर्याउनका निम्ति नै वार्ता टोली गठन गरिएको हो । वार्ताभन्दा अगाडि नै सबै कुरा हल गर्ने हो भने वार्ताको औचित्य नै समाप्त हुन्छ, मन्त्री गुरुङले भने ।

सरकारले २८ फागुन २०७५ देखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ । हिंसात्मक गतिविधिमा लागेको भन्दै सरकारले विप्लव समूहको सम्पूर्ण गतिविधिमाथि रोक लगाएको थियो । त्यसयता नेपाल प्रहरीले समूहका नेता, कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति लिँदै आएको छ ।

तर, चार वटै सुरक्षा निकायले यो समस्याको समाधान राजनीतिक तहको वार्ताबाटै गर्नुपर्ने बताउँदै आएका थिए । हालसम्म समूहका करिब दुई हजार नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

यसअघि सरकारले भूमिगत समूहहरुसँग वार्ता गर्न भन्दै सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन गरेको थियो ।

यो पनि पढ्नुहोस् : विप्लव समूह पनि वार्ता समिति बनाउने तयारीमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?