Comments Add Comment

‘कम्फर्टेबल सरकार’मा प्रचण्डको प्रष्टोक्ति : मेरो अन्तर्वार्ताको गलत प्रचार भयो

‘परिस्थिति अनुकुल छ, यहाँ धेरै ब्रिफ नगरौं’

१९ फागुन, काठमाडौं । ‘कम्फर्टेबल सरकार बनाउने’ अभिव्यक्तिलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टीभित्रै प्रश्न उठेको छ । उनले भने आफूले अन्तर्वार्तामा बोलेको कुराको गलत प्रचार भएको दाबी गरेका छन् ।

बुधबार पेरिसडाडाँमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा नेताहरुले प्रचण्डलाई विवादित अन्तर्वार्ताबारे प्रश्न गरेका थिए ।

स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी र परिस्थितिलाई असर पर्ने गरी अन्तर्वार्ताबारे प्रचार भएको भन्दै प्रश्न गरेका थिए । अन्य केन्द्रीय नेताहरुले पनि यसबारे प्रचण्डको जवाफ मागेका थिए । कतिपय केन्द्रीय सदस्यहरुले मौखिक र कतिले लिखित रुपमा प्रश्न गरेको वैठकमा सहभागी एक नेताले बताए ।

जवाफमा प्रचण्डले आफूले दुवै छिमेकीसँग समान सम्बन्ध रहनुपर्छ भन्ने अर्थमा बोलेको बताएका छन् । ‘मैले सु–विचारित ढंगले नै अन्तर्वार्ता दिएको हुँ’ उनले भने, ‘दुवै छिमेकीसँग सन्तुलन कायम गरेर जानुपर्छ । हाम्रो असंलग्न परराष्ट्र नीतिका आधारमा दुवै छिमेकीसँग समान सम्बन्ध रहनुपर्छ भन्ने अर्थमा मैले बोलेको हुँ ।’

२०६२ सालमा तत्कालिन ७ राजनीतिक दल र बिद्रोही नेकपा माओवादीबीचको १२ बुँदे सहमतिदेखिकै विशिष्ट अवस्थालाई लिएर आफूले भारतसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौं भनेको उनले बताए । त्यसको केही अंश मात्र प्रचार गरेको प्रचण्डले दावी गरे ।

के भनेका थिए प्रचण्डले ?

एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बोलेको विषयलाई लिएर पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड विवादमा परेका थिए । ‘कम्फर्टेबल सरकार बनाउने’ अभिव्यक्तिलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले समेत सार्वजनिक मञ्चबाटै पटकपटक प्रश्न उठाएका छन् ।

के भनेका थिए प्रचण्डले  ?

… वामदेव गौतम र युवराज ज्ञवाली रोल्पा जानुभयो । म र बाबुराम थियौं । पहिलो चोटी माइन्यूट गरियो । अब हामी मिलेर जाने भनियो । त्यो भन्नेलाई कारबाही गर्नुपर्छ भन्ने केपी ओली । ‘आतंककारीसँग यसो भन्ने’ भन्ने केपी ओली । समावेशी र समानुपातिक हुनुहुँदैन भन्ने केपी ओली । हिजो गणतन्त्रको आन्दोलनको नेता त माधवकुमार नेपाल हो नि त । गणतन्त्रकै निम्ति जानुपर्छ भन्ने महासचिव त आन्दोलनभरि उहाँ हुनुहुन्थ्यो । माधवजी यही हुुनुहुन्छ, हामी सँगै छौं ।

शेरबहादुरजी पनि नेपाली काँग्रेसको नेता । गिरिजाप्रसाद कोइरालाले हिजो साहस नलिएको भए, पहल नलिएको भए शान्ति सम्झौता हुन गाह्रो थियो । सात दलको नेताको हैसियतले उहाँले भूमिका खेल्नुभयो । शान्ति सम्झौतामा दुईटाले हस्ताक्षर गरियो । त्यो सवै शक्ति त एकैठाउँमा छौं नि । यी शक्ति मिल्नुपर्‍यो भन्या हो । यहाँ कोही कसैविरुद्ध षडयन्त्र होइन, यो । ती शक्ति मिल्दा नै देशमा राजनीतिक स्थायित्वको अवस्था बन्ने भयो । र, इतिहासले जसलाई अगाडि बढ भनेको तिनै बढ्नु पर्यो क्या । नपढ भनेको मान्छेलाई कताकता ल्याइयो र त यहाँ दुख पाइयो ।

त्यसो भएर मेरो भनाइ– नेपाली काँग्रेस, हामी र जनता समाजवादी पार्टी मिलेर जाँदा चेक एण्ड ब्यालेन्स पनि हुन्छ, देशको राजनीति सन्तुलनमा बस्छ । सवै छिमेकीहरुसँगको सम्बन्ध पनि राम्रो भएर जान्छ । भारतसँग पनि चीनसँग पनि राम्रो सन्तुलन हुन्छ । अझ भारतसँगको जो विशिष्ट सम्बन्ध छ। हाम्रो इतिहास, भूगोल, संस्कृति, धर्म परम्परा, अर्थतन्त्र, पानीढलो, खुला बोर्डर सवै कारणले भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा स्थायित्व, विकास हुँदैन । त्यसरी हेर्दा म के देख्छु– नेपाली काँग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका निम्ति पनि यो भन्दा कन्फर्टेवल समीकरण हुँदैन । चीनको लागि पनि यो कन्फर्टेबल नै हुन्छ । यति राम्रो सम्भावना अहिले छ, यसमा जानुपर्यो भनेर मैले भनेको छु ।

तर ‘हामी, कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई कम्फर्टेबल हुन्छ’ भनेको अंशको सार्वजनिक रुपमा बढी चर्चा भयो ।

एक केन्द्रीय सदस्यका अनुसार, बुधबारको बैठकमा प्रचण्डले यस्ता संवेदनशील विषयमा बोल्दा ध्यान दिने पनि बताएका छन् । ‘मैले यस्ता विषयमा बोल्दा अझै संवेदनशीलता अपनाउनुपर्छ भन्ने महशुस गरेको छु’, प्रचण्डको भनाइ थियो ।

केन्द्रीय सदस्यहरुले महिलामाथि अपमान अनुभूति हुने गरी नेताहरुले दिएको अभिव्यक्तिबारे पनि प्रश्न उठाएका छन् । राष्ट्रियसभा सदस्य कोमल वलीबारे ‘यौनजन्य अभिव्यक्ति’ दिएका कारण विवादित बनेका स्थायी कमिटी सदस्य रघुजी पन्त प्रकरणमा प्रचण्डले संक्षिप्त जवाफ दिए, ‘उहाँले सार्वजनिक रुपमै सरी भनिसकेपछि थप कुरा नगरौं । तर आगामी दिनमा संवेदनशील बनौं ।’

नेताहरुले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा २२ माघमा आम हड्तालको अनुगमन गर्न प्रचण्डले गाडी चढेर गएको विषयमा पनि प्रश्न उठाए ।

संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि खुशियाली मनाउँदै दुई अध्यक्षले चितवनमा मिठाइ खाएको विषयमा नेताहरुले प्रश्न गरेका थिए । प्रचण्डले भने ‘त्यस्तो कुरामा ख्याल गर्नुपर्ने रहेछ’ भनेको एक नेताले बताए ।

‘परिस्थिति अनुकुल छ, यहाँ धेरै ब्रिफ नगरौं’

अध्यक्ष प्रचण्डले राजनीतिक परिस्थितिबारे पनि केन्द्रीय सदस्यहरुसँग ब्रिफिङ गरेका छन् । नागरिकता र पार्टी परिचयपत्रसहित बैठकमा बोलाइएका केन्द्रीय सदस्यहरुलाई प्रचण्डले ढुक्कले पार्टी मोर्चामा खटिन निर्देशन दिएका छन् । ‘केपी ओलीको असंवैधानिक कदमको विपक्षमा रहेको र संविधानको रक्षाको पक्षमा उभिएका दलहरुसँग कुरा सकारात्मक छ’, प्रचण्डको ब्रिफिङ थियो ।

‘परिस्थिति अनुकुल छ’ भनेका उनले ‘यहाँ धेरै ब्रिफ नगरौं, तपाईंहरु ढुक्क भएर लाग्नुहोस्’ भनेका थिए । निर्वाचन आयोगले पार्टी वैधानिकता आफूहरुलाई नै दिने अध्यक्ष प्रचण्डले बताएका छन् । ‘जसरी सर्वोच्च अदालतबाट संविधानको रक्षामा निर्णय आउँछ भनेका थियौं । निर्वाचन आयोगबाट पनि त्यही हुन्छ । र, राजनीतिक समीकरण त्यस्तै नै बन्छ’, प्रचण्डको भनाइ थियो ।

संसद र सरकार कसरी अगाडि बढ्छ भन्ने चाहिँ प्रचण्डले प्रष्ट नबताएको एक नेताले बताए । बैठकले २३ फागुनमा बोलाइएको प्रतिनिधिसभा बैठक र निर्वाचन आयोगको वैधानिकताबारे निर्णय लिने जिम्मा स्थायी कमिटी र सचिवालयलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment