Comments Add Comment

९० अंकले बढ्यो नेप्से, कारोबार रकम भने ६ अर्बमा सीमित

२० फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरु बढेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक ९० दशमलव ६७ अंकले उकालो लागेर २ हजार ५ सय ६ दशमलव ६८ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव ६७ अंकले उकालो लागेको छ । यस अघि बुधबारको कारोबारमा नेप्से परिसूचक ३९ अंक भन्दा धेरैले गिरावट आएको थियो । पछिल्लो केही दिन यता निरन्तर जसो घटेको बजार बिहीबार भने ठूलो अंकले उकालो लाग्दा लगानीकर्तामा सकारात्मक संदेश गएको छ ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने ६ अर्ब रुपैयाँमा सीमित भएको छ । बुधबारको तुलनामा २५ करोड रुपैयाँ भन्दा धेरैले सेयर कारोबार रकम घटेको छ । दिनभर भएका ६५ हजार १७४ कारोबारबाट २०६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबार रकम भने ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१७ रुपैयाँ पुगेको छ । केही दिन यता बजार घट्दा समेत बढ्दै आएको व्यापार समूहको सबइन्डेक्स बिहीबार पनि ७ प्रतिशतभन्दा धेरैले बढेको छ । यो नै बिहीबारको सबैभन्दा धेरै बढ्ने समूह हो ।

त्यसपछि अन्य समूहमा रहेका कम्पनीहरुको सबइन्डेक्स ५ दशमलव ४४ प्रतिशतले, लगानी समूह ५ दशमव २६ प्रतिशतले र लघुवित्त समूहको सबइन्डेक्स ५ दशमलव ०६ प्रतिशतले उकालो लागेको छ । जलविद्युत समूह ४ दशमलव ७८ प्रतिशतले उकालो लाग्दा जीवन बिमा ३.५, बैंकिङ २.९६, होटल तथा पर्यटन २.९९, विकास बैंक २.४७ र फाइनान्स २.७८ प्रतिशतले बढेको छ ।

धेरै कमाउनेमा बिहीबार पनि चन्द्रगिरि हिल्स कम्पनीकै लगानीकर्ताहरु देखिएका छन् । केही दिन यता यस कम्पनीको सेयर मूल्य लगातार बढिरहेको छ । बिहीबार १० प्रतिशत अर्थात ५५ रुपैयाँले बढेर चन्द्रागिरीको सेयर मूल्य ६ सय ५ रुपैयाँ पुगेको छ ।

दोस्रोमा लिबर्टी इनर्जी र तेस्रोमा सुर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेको नेप्सेले जनाएको छ ।

डिबेञ्चरको मूल्य ओरालो

बिहीबार धेरै घट्ने सूचीको शिर्ष स्थानमा म्युचुअल फण्ड तथा डिबेञ्चर देखिएका छन् । पहिलो नम्बरमा देखिएको एनएमबी–५० को मूल्य ३.४५ प्रतिशतले घटेर १२ रुपैयाँ ३१ पैसामा झरेको छ ।

दोस्रोमा आईसीएफसी फाइनान्स डिबेञ्चरको मूल्य १.७६ प्रतिशतले घटेर १ हजार १ सय ७१ रुपैयाँमा झरेको छ भने तेस्रोमा ग्लोबल आइएमई समुन्नत–१ को मूल्य १.४८ प्रतिशतले घटेर १४ रुपैयाँ ६६ पैसामा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment