Comments Add Comment

कांग्रेस पदाधिकारी बैठक अनिर्णित

२० फागुन, काठमाडौं । नेपाली कांंग्रेसले वर्तमान राजनीतिक विषयमा धारणा तय गर्न सकेन । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राजनीतिक निकासका विभिन्न पक्षमा छलफल गरेपनि साझा धारणा बनाउन नसकेको हो ।

कांग्रेसभित्र पुनस्र्थापित प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा पार्टी सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक–फरक मत रहँदै आएको छ । सभापति, महामन्त्री लगायतका पदाधिकारीहरु कांग्रेस पक्ष निर्णायक हुने गरी परिवर्तित अवस्थाको उपयोग गर्ने पक्षमा छ भने रामचन्द्र पौडेल पक्ष सत्तारुढ नेकपाको ओली पक्ष बाहेकको शक्तिसँग मिलेर राजनैतिक निकास दिनुपर्ने भन्नेमा देखिएको छ ।

पदाधिकारी बैठकले निर्णय गर्न नसकेपछि कांग्रेसले राजनीतिक निकासका लागि सांसदहरुको धारणा लिने भएको छ । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको बैठकमा सांसदहरुको विचार लिने र प्रतिनिधिसभाको बैठक बस्ने दिनसम्म विकसित हुने राजनैतिक घटनाक्रमलाई विश्लेषण गरेर कांग्रेसले निर्णय गर्ने बताए ।

‘बैठकमा साझा धारणा बनाउने र ठीक समय आएपछि निर्णयमा पुग्ने सहमति भएको छ । समयमा ठीक ठंगले निर्णय गर्छ, इन्जुरी टाइममा गोल गरेको भन्दा हुन्छ,’ उनले भने, ‘अहिले हामी एक खालको मनोविज्ञानमा पुगेका छौ । तर ठोस निर्णय संसदीय दलको बैठकमा सांसदहरुको धारणाका साथ गर्छौ । अविश्वासको प्रस्तावको प्रस्तावकको रुपमा जान्छौ कि अगुवाइ नै गरेर जान्छौ भन्ने कुरा त्यहीं थाहा हुन्छ ।’

कांग्रेसले सांसदहरुको धारणा लिन शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार नै नेकपा प्रचण्ड–माधव समूहले नेपाली कांग्रेसका पदाधिकारीसँग छलफल गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment