Comments Add Comment

व्यवसायीको साझा प्रश्न – लाखौं भेला हुन हुने, नाका खोल्दा कोरोना सर्छ ?

२२ फागुन, धनगढी । १९ वर्ष पहिलेसम्म पनि नेपालीलाई पर्यटक मानिँदैनथ्यो । पर्यटक भनेकै विदेशी र त्यसमा पनि गोरा छाला भएका हुन् भन्ने मान्यता बढी थियो । यो धारणालाई चिर्न पश्चिमाञ्चल होटल संघले एउटा अभियान ल्यायो, ‘जाऔं है पोखरा ।’

देशका विभन्न ठाउँमा पुग्ने र पोखरा घुम्न निम्तो बाँड्ने अभियान संघले चलायो । तत्कालीन संघका अध्यक्ष विश्वशंकर पालिखे, विप्लव पौडेलहरुको नेतृत्वमा इलामबाट सुरु भयो ‘जाऔं है पोखरा ।’ करिब २ दशकपछि आजको अवस्था त्यस्तो छैन । पोखरा घुम्न आउने ५० प्रतिशत पर्यटक नेपाली नै हुन्छन् । तर, कोभिड-१९ महामारीले फेरि पर्यटनलाई थला पार्‍यो ।

कोभिडलाई जितेर फेरि पर्यटन लयमा फर्किन लागिरहेका बेला संघलेे फेरि पर्यटकलाई पोखरा घुम्न निम्तो दिन देशका विभिन्न ठाउँमा निस्केको छ । कोभिडले पारेको संकटको विश्लेषण गर्दै आन्तरिक पर्यटनलाई चलायमान बनाउने लक्ष्यसहित निम्तो बाँड्न निस्किएको संघका अध्यक्ष विकल तुलाचनको भनाइ छ ।

नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, बर्दीयालगायत पश्चिम नेपालमा संघको टोली निम्तो बाँड्दै पर्यटन प्रवर्द्धनमा जुटिरहेको छ । शुक्रबारदेखि निम्तो बाँड्न निस्किएको टोली ४ दिनसम्म विभिन्न ठाउँमा कार्यक्रम गर्दै छलफल, समीक्षा र निम्तो बाँडेर पोखरा फर्किने छ ।

कोभिडपछि संघले ‘जाऔं है पोखरा’ अभियान गएको मंसिरदेखि नै थालिसकेको थियो । गएको मंसिर २४ देखि २७ गतेसम्म पूर्वी नेपालका वीरगञ्ज, जनकपुर, विराटनगर र चितवनसम्मको प्रवर्द्धन गरी फर्किएको थियो ।

फागुन ७ गतेदेखि निजी क्षेत्रले नेपालगञ्ज-पोखरा विमान चार्टर गरेर पर्यटन प्रवर्द्धन थालेका थिए । हप्ताका २ दिन शुक्रबार र आइतबार पश्चिम नेपालबाट नेपालगञ्ज हुँदै पोखरा पुग्ने र पोखराका व्यवसायी पश्चिम नेपालमा घुम्न निस्कने अभियान सुरु भएको छ । त्यसैलाई निरन्तरता दिँदै पोखराका व्यवसायी विमान चार्टर गरेर पश्चिम नेपालका विभिन्न ठाउँमा पर्यटन प्रवर्द्धनका निम्ति निस्किएका हुन् ।

व्यवसायीको साझा प्रश्न : नाका किन बन्द ?

निजी क्षेत्रले विमानै चार्टर गरेर पर्यटन प्रवर्द्धन थालेका छन्, तर अहिलेसम्म भारतीय नाकाहरु अझै खुलेका छैनन् । पोखरा र पश्चिम नेपालका व्यवसायीको साझा आवाज छ, ‘अझै नाका बन्द गर्नुपर्ने कारण के हो, तुरुन्त नाका खोलियोस् नत्र आन्दोलनमै उत्रनु नपरोस् ।’

पश्चिम नेपाल र यही बाटो भएर भारतीय पर्यटन नेपालकै प्रमुख पर्यटकीय नगरी पोखरा पुग्न सक्छन् र पोखरादेखि त्यसरी नै पश्चिम नेपालका विभिन्न क्षेत्रमा घुम्न आउन सक्छन् । तर, सरकारी नीतिका कारण पर्यटन क्षेत्रलाई धक्का मार्ने काम भइरहेको व्यवसायीको गुनासो छ ।

नेपालगञ्जमा भएको कार्यक्रममा आन्तरिक पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले ३४/३५ करोड जनसंख्या रहेको भारतको उत्तर प्रदेशका पर्यटक चाहेर पनि नेपाल आउन नपाएको बताए । ‘उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पनि भेटेर आयौं । यहाँका पर्यटकलाई धेरैभन्दा धेरै आकर्षित गर्नुस् भन्नुभाछ,’ श्रेष्ठले भने, ‘तर, नाका बन्द भएकै कारण पर्यटक आउन पाएनन् ।’

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले निजी क्षेत्रले आन्तरिक पर्यटनकै माध्यमबाट अर्थतन्त्रलाई चलायमान गराइरहँदा राज्यले विधेदकारी नीति लिएको बताए । होटल संघ बाँकेका अध्यक्ष आशिषशमशेर जबराले भारतीय पर्यटक नेपालगञ्ज हुँदै पोखरा र मुक्तिनाथसम्म पुग्ने ठूलो संख्या भएको बताए । ‘नेपालगञ्ज-पोखरा हवाई मार्ग भएरै धेरै पर्यटक पोखरा, मुक्तिनाथ पुग्न सक्छन्,’ जबराले प्रश्न गरे, ‘काठमाडौंमाभन्दा धेरै रात पोखरामा पर्यटकले बिताउन सक्छन् । तर, बोर्डर किन बन्द गरेको ?’

नेपालगञ्जमा शुक्रबार छलफल गरेर कैलालीको चिसापानीमा बसेर शनिबार धनगढीमा अर्को छलफल कार्यक्रम भयो । धनगढी र पोखराका व्यवसायीले पनि नाका बन्द गरिराखेकोमा सरकारप्रति आक्रोश पोखे ।

‘नाका पूर्ण रुपमा खुल्नुपर्छ, लाखौं मानिस भेला भएर आम सभा गर्दा कोरोना सर्दैन, नाका खोलेर पर्यटक आउँदा कोरोना सर्छ,’ बमले भने, ‘राज्यले यस्तो नीति फेर्नुपर्छ । यस्तै अवस्था रहृयो भने वाध्य भएर आन्दोलन गर्नुपर्ने दिन आउन सक्छ ।’

धनगढीका होटल व्यवसायी दिनेश भण्डारीले २ किलोमिटरको दूरीमा भारतका धेरै ठूला र औद्योगिक सहर रहेको र त्यहाँबाट धेरै पर्यटक नेपाल भित्राउन सकिने बताए । ‘हामी छिमेकी शहरसम्म पुगेर पर्यटक बोलाउन सक्छौं ।

‘लखनउ, देहेरादुनजस्ता धेरै शहर छन् । ठूला औद्योगिक क्षेत्र छन्,’ भण्डारीले भने, ‘त्यहाँका व्यवसायी पनि नेपाल आउन चाहान्छन् । सामूहिक प्रयास गरौं ।’

कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले कैलाश मान सरोबर पुग्न चाहने भारतीय पर्यटकलाई सुदूरपश्चिम हुँदै भित्राउने र तिनै पर्यटकलाई पोखरा र मुक्तिनाथ धामसम्म पुर्‍याउन सक्ने हो भने पर्यटनमा ठूलो योगदान पुग्ने बताए । पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरत पराजुलीले नाका खोल्न प्रदेश र संघीय सरकारलाई दबाब दिएर पनि नखुलेको बताए । ‘अब सामूहिक रुपमा आवाज उठाऔं, दबाब दिऔं,’ पराजुलीले भने, ‘बोर्डर खुल्नेबित्तिकै हाम्रा धेरै सहरबीच थप कनेक्टिभिटीमा बल पुग्छ ।’

आन्तरिक पर्यटनको विकल्प छैन

पोखराका पर्यटकलाई कसरी पश्चिम र सुदूरपश्चिमसम्म पुर्‍याउने र यहाँका पर्यटकलाई कसरी पोखरा पुर्‍याउने भन्नेबारे व्यवसायीले छलफल गरे । कोभिड-१९ पछि अझै विदेशी पर्यटक आउने अवस्था नरहेको भन्दै आन्तरिक पर्यटकलाई नै चलायमान बनाउने हो भने मात्र पर्यटन क्षेत्र उठ्ने व्यवसायीहरुको विश्वास छ । पोखरा र पश्चिम, सुदूरपश्चिमको पर्यटन व्यवसायीले छलफल गर्दै अनुभव साटे ।

कोभिडले थला पारेको पर्यटनलाई आन्तरिक पर्यटनकै माध्यमबाट उठ्ने आन्तरिक पर्यटन पर्यटन मञ्च सुदूरपश्चिमका अध्यक्ष माया भट्टले बताए । ‘सुदूरपश्चिमको टोली अघिल्लो महिना पर्यटक बोलाउँदै पोखरा पुगेको थियो । अहिले पोखरादेखि यहाँ आउनुभएको छ,’ भट्टले भने, ‘यसरी नै आदान-प्रदान गर्न सक्यौं भने हामी उठ्छौं ।’

रामारोशन, शुक्लाफाँटा, खप्तड, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, शिवपुरी धाम जस्ता थुप्रै पर्यटकीय ठाउँमा पोखरादेखि पर्यटक पठाइदिन पश्चिम नेपालका व्यवसायीले आग्रह गरे भने पोखराका व्यवसायीले पश्चिम र सुदूरपश्चिमका व्यवसायीलाई घुम्न निस्कन आहृवान गरे । हवाइ र सडकको कनेक्टिीभिटी राम्रो भएमात्रै पनि आन्तरिक पर्यटनमा ठूलो टेवा पुग्ने पर्यटन विकास कार्यान्वयन इकाई सुदूरपश्चिम पर्यटन मन्त्रालयका भोजराज पाठकले बताए ।

‘घुम्न निस्कन सन्देश दिने, अनुभव आदान-प्रदान गर्ने अभियान बिस्तार हुँदै गइरहेको छ । यो सिक्ने, अनुभव साट्ने अवसर पनि हो,’ पाठकले भने, ‘अघिल्लाे महिना हामी पोखरा पुगेका थियौं, अहिले तपाईंहरु आउनुभएको छ । यो क्रम जारी रहोस् ।’

पश्चिमाञ्चल होल संघका पूर्वअध्यक्ष हरि शर्मा गैरेले २ दशकअघि नेपालीलाई पर्यटक नै नमान्ने अवस्थाबाट आज आन्तरिक पर्यटनकै भर पर्नुपर्ने अवस्था आएको बताए । आन्तरिक पर्यटनका सम्भावना उजागर गर्नकै लागि अभियान लिएर निस्केको र यसका लागि साझा अभियान चलाउनुपर्ने उनको भनाइ छ ।

सुदूरपश्चिमका व्यवसायी गोपाल हमालले घुम्न पुगेका पर्यटकलाई कस्तो व्यवहार गर्छौ भन्ने कुराले ठूलो अर्थ राख्ने भन्दै आथित्यता सिकाउनुपर्ने बताए । हान पश्चिमाञ्चलका अध्यक्ष गणेश पहारीले ‘जाउँ है पोखरा’ अभियानले देशकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

हान पश्चिमाञ्चलका अध्यक्ष विकल तुलाचनले पोखराको पर्यटनमा ३ खर्ब रुपैयाँ लगानी रहेको जानकारी दिए । आन्तरिक पर्यटनकै माध्यमबाट लगानीलाई जगाइराख्नु पर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment