News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजार घटनाका पीडित व्यवसायीहरूले उचित क्षतिपूर्ति र सुरक्षाको ग्यारेन्टी नभएसम्म पसल नखोल्ने अडान लिएका छन् ।
- मुस्लिम समुदायका व्यवसायीहरूले घटनापछि आफ्नो अवस्था बुझ्न सरकारी तथा स्थानीय निकायबाट कोही पनि नआएको गुनासो गरेका छन् ।
- स्थानीय व्यवसायी मोहम्मद फयास खानले भने, ‘सरकारले क्षतिपूर्ति र सुरक्षित रूपमा व्यापार गर्न सकिने वातावरण बनाएकै छैन, त्यो ग्यारेन्टी नगरेसम्म हामी पसल खोल्दैनौं ।’
२० साउन, सिरहा । सिरहाको गोलबजार घटनामा भौतिक क्षति बेहोरेका व्यवसायीले क्षतिपूर्ति र सुरक्षाको ग्यारेन्टी नभएसम्म पसल नखोल्ने अडान लिएका छन् ।
साउन १४ गते भएको हिंसात्मक घटनामा पसल तथा व्यावसायमा क्षति बेहोरेका मुस्लिम समुदायका व्यवसायीहरूले सरकारबाट क्षतिपूर्ति र सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण पाउनुपर्ने माग राखिरहेका छन् ।
सरकारले क्षतिपूर्ति र सुरक्षाको प्रत्याभूति नदिलाएसम्म पसल नखोल्ने उनीहरूको अडान छ । व्यवसायीहरूले आन्दोलनका क्रममा आफ्नो समुदायलाई लक्षित गर्दै पसल, घर तथा धार्मिकस्थलमा तोडफोड, आगजनी र लुटपाट भएको दाबी गर्दैआएका छन् ।

तर, घटना भएको एक साता बितिसक्दा पनि सरकार, स्थानीय तह, व्यापार संघ तथा सम्बन्धित निकायबाट आफ्नो अवस्था बुझ्नसमेत कोही नआएको उनीहरूको गुनासो छ ।
‘घटना भएको करिब एक साता हुनलाग्यो, तर हाम्रो अवस्था बुझ्न न सरकार आयो, न व्यापार संघ,’ स्थानीय व्यवसायी मोहम्मद फयास खान भन्छन्, ‘छेउछाउका साथीहरूले पसल खोलेका छन् । तर, हाम्रो दु:खमा साथ दिन कोही आएन ।’ सरकारले आफूहरूलाई व्यावसाय गर्ने वातावरण नै नबनाइदिएको उनले बताए । ‘सरकारले क्षतिपूर्ति र सुरक्षित रूपमा व्यापार गर्न सकिने वातावरण बनाएकै छैन । त्यो ग्यारेन्टी नगरेसम्म हामी पसल खोल्दैनौं । आवश्यक परे यहाँबाट विस्थापित हुनपनि तयार छौं,’ खानले भने ।

अर्का व्यवसायी सबाज खानले आन्दोलनका क्रममा व्यापारीमाथि ठूलो अन्याय हुँदा पनि अहिले कोही पनि पीडा सुन्न कोही नआएको गुनासो गरे । ‘गृहमन्त्री सुदन गुरुङ मृतक गणेश यादवको परिवारलाई भेट्न यही बाटो भएर जानुभयो । तर, यहाँ व्यवसायीहरूको अवस्था गाडीसमेत रोक्नुभएन,’ उनले भने, ‘यस्तो अवस्थामा आज पसल खोल्यौं भने भोलि फेरि यस्तै घटना हुँदैन भन्ने ग्यारेन्टी के छ ?’
व्यवसायी मोहम्मद इमतियाज खानले मुस्लिम समुदायलाई नै लक्षित गरेर पसल, मल तथा घरहरूमा तोडफोड र आगजनी गरिएको दाबी गरे । ‘गोलबजारमा मात्रै हाम्रो समुदायको करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । तर, प्रशासन, स्थानीय सरकारदेखि संघीय सरकारबाट कोही पनि क्षतिपूर्ति पाउँछौं भनेर भन्न आएन,’ उनले भने ।

गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवरले गोलबजारका करिब ८० प्रतिशत व्यवसायी मुस्लिम समुदायका रहेको बताए । उनले भने, ‘वर्षौंदेखि कपडा, जुत्ता, होटल, मल तथा अन्य व्यवसाय सञ्चालन गर्दैआउनुभएको थियो । अहिले सुनसरीको घटनालाई लिएर उहाँहरूमाथि नै आक्रमण भयो ।’
अहिले व्यवसायीहरू गोलबजार छाडेर विस्थापित हुने सोचमा पुगेको उनी बताउँछन् ।
‘हामीले चारैतिर पहल गर्दै व्यवसायीहरूलाई पसल खोल्न आग्रह गरिरहेका छौं । तर, अरू निकायबाट आवश्यक पहल नै नभएको उहाँहरूको गुनासो छ,’ वडाध्यक्ष अनवरले भने ।
प्रतिक्रिया 4