Comments Add Comment

मेयर्स कप क्रिकेट : एपीएफले आर्मीलाई हरायाे

२२ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कपमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । शनिबारको खेलमा खेलाडीले उत्कृष्ट ब्याटिङ गरेपछि एपीएफले आर्मीलाई १ विकेटले पराजित गरेको हो ।

आर्मीले दिएको २३६ रनको लक्ष्य एपीएफले ४९.४ ओभर खेल्दै ९ विकेट गुमाएर पूरा गरेको हो । एपीएफको जितमा सुमित महर्जन, वसन्त रेग्मी र अमर सिंह रौटेलाले उत्कृष्ट ब्याटिङ गरे । सुमितले ६० रन बनाए ।

शानदार जितपछि एपीएफले गत माघमा भएको प्रधानमन्त्री कप फाइनलमा व्यहोरेको हारको बदलासमेत लिएको छ । अन्तिम ओभरमा एपीएफलाई जितका लागि ७ रन आवश्यक थियो र १ विकेट मात्र बाँकी थियो । आर्मीका शाहाब आलमलक पहिलो बलमा एपीएफका अभिनाशले रन जोड्न सकेनन् । तर दोस्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जित नजिक पु¥याए । तेस्रो बल डट खेलेका अभिनाशले चौथो बलमा सिंगल रन लिँदै जित पक्का गरेका थिए ।

अन्तिम ओभरमा मैदान प्रवेश गरेका अभिनाशले ४ बल खेल्दै अविजित ७ रन बनाए । कमल सिंह ऐरी ४ रनमा अविजित रहे । एपीएफको सुरुवात राम्रो हुन सकेन । १६ रन बनाउँदा एपीएफले सुरुवाती ४ विकेट गुमाएको थियो । ओपनर सुवास खकुरेल ४, कप्तान शरद भेषवाकर , आसिफ शेख १२ र सन्दीप जोरा शून्यमा आउट भएपछि एपीएफको इनिङ्स सुरुमै धर्मराएको थियो ।

तर पाँचौ विकेटका लागि शंकर राना र सुमित महर्जनले ५२ रनको साझेदारी गरे । शंकरले ४३ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३३ रन जोडे । त्यसपछि भुवन कार्की १० रन बनाएर आउट भएपछि सातौं विकेटका लागि सुमित र वसन्त रेग्मीले ७१ रनको साझेदारी गरे । सुमितले ७८ बल खेल्दै ८ चौका मद्दतमा ६० रन बनाए ।

सुमित आउट भएपछि वसन्त र अमरले इनिङ्स सम्हाले । आठौं विकेटका लागि वसन्त र अमर सिंह रौटेलाले ६५ रनको साझेदारी गरे । अमर ४८औं ओभरको चौथो बलमा आउट भए । उनले ३१ बल खेल्दै १ चौका र ४ छक्का मद्दतमा ३८ रन बनाए ।

एपीएफको जितको लागि आधार तयार गरेका वसन्त रेग्मी ४९औं ओभरको अन्तिम बलमा आउट भए । उनी अर्धशतक बनाउन १ रनले चुके । वसन्तले ७९ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ४९ रन योगदान गरे ।

उनले आर्मीका लागि १० ओभरमा ३ मेडन राख्दै २१ रन खर्चेर ३ विकेट लिए । यस्तै करण केसीले २ तथा सोमपाल कामी, शाहाब आलम र लोकेश बमले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पूरै ५० ओभर खेल्दै सबै १० विकेट गुमाएर २३५ रन बनाएको हो । आर्मीका लागि रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे । रोहितले ७८ बल खेल्दै ३ चौका मद्दतमा ५६ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले ४२ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा ४२ रन बनाए । लोकेश बमले ३०, सोमपाल कामीले २८ रन जोडे ।

पहिलो विकेटका लागि सोमपाल र लोकेशले ६१ रनको साझेदारी गरेका थिए । चौथो विकेटका लागि रोहित र विनोदले ७१ रनको साझेदारी गरेका थिए । आर्मीले अन्तिम ओभरमा ४ विकेट गुमाएको थियो । उक्त ओभरमा एपीएफका अभिनाश बोहराले ३ विकेट लिँदा एक खेलाडी रनआउट भए । अभिनाशले १० ओभर स्पेशलमा ४१ रन खर्चेर ३ विकेट लिएका हुन् ।

यस्तै अमर सिंह रौटेलाले १० ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर २ विकेट लिए । भुवन कार्कीले पनि २ विकेट लिए । कमल ऐरी र वसन्त रेग्मीले समान १ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment