Comments Add Comment

इरिट्रियाको सेनाले इथियोपियामा सयौं सर्वसाधारणको हत्या गरेको मानव अधिकार नियामकको ठहर

Photo Credit : AFP

२३ फागुन, काठमाडौं । इथियोपियाको टिग्रे प्रान्तमा छिमेकी मुलुक इरिट्रियाको सेनाले सयौं बालबालिका र नागरिकको हत्या गरेको मानव अधिकार नियामक ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)ले बताएको छ । एचआरडब्ल्यूले सार्वजनिक गरेको प्रतिवेदनअनुसार इथियोपियाको टिग्रेमा गत नोभेम्बरमा भएको नरसंहारमा इरिट्रियाका सैनिक सक्रिय रहेको पाइएको हो ।

एम्नेस्टी इन्टरनेशनलले पनि सोही नरसंहारमा इरिट्रियाका सेनाले रणनीतिकरुपमा सयौं मानिसहरुको हत्या गर्दै रक्तपात मच्चाएको उल्लेख गरेको थियो । पछिल्लो समय इरिट्रियाको सेनाको टिग्रेमा बढिरहेको उपस्थितिको विषयमा विश्व समुदायको ध्यानाकर्षण भइरहेको अवस्थामा मानव अधिकार नियामकको यस्तो प्रतिवेदन सार्वजनिक भएको हो ।

यसअघि गत बिहीबार संयुक्त राष्ट्रसंघका नेताहरुले इरिट्रियाका सैनिकबाट टिग्रेमा मानव अधिकारको उल्लंघन भएको हुन सक्ने भन्दै तत्काल उनीहरुलाई उक्त स्थानबाट फिर्ता हुन आग्रह गरेका थिए ।

इथियोपिया र इरिट्रियाले भने मानव अधिकार नियामकको निष्कर्षलाई अस्वीकार गर्दै टिग्रेमा इरिट्रियाको सेनाको उपस्थिति अस्वीकार गर्दै आएका छन् । गत नोभेम्बरमा इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले टिग्रेका नेताहरुविरुद्ध सैन्य कारबाहीको घोषणा गरेका थिए । उनीहरुले संघीय सेनाको क्याम्पमा आक्रमण गरेको उनको आरोप थियो ।

नोभेम्बर २८ बाट टिग्रेमा नरसंहार सुरु भएको एचआरडब्ल्यूले बताएको छ । एचआरडब्ल्यूका अनुसार इरिट्रियाका सेनाले टिग्रेका गाउँहरुमा मानिसहरुको घर–घर पुगेर युवकहरु र बालकहरुलाई खोज्दै उनीहरुको हत्या गरेका थिए । एम्नेस्टी इन्टरनेशनलजस्तै एचआरडब्ल्यूले पनि यो घटनामा मारिनेको संख्या यकिन नभए पनि नोभेम्बर २८ र २९ मा मात्र दुईसयभन्दा धेरै सर्वसाधारण मारिएको बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment