Comments Add Comment

शान्ति प्रक्रिया अघि बढाउन अफगानिस्तानसँग अमेरिकाको प्रस्ताव

Photo Credit : Reuters

२४ फागुन, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अफगानिस्तानका राष्ट्रपति असर्फ घानीलाई पत्र लेख्दै अफगानिस्तानको शान्ति प्रक्रियालाई अघि बढाउन आग्रह गरेका हुन् । उनले अझै पनि गत वर्ष भएको अमेरिका–तालिबान सम्झौताको पुनरवलोकनको काम नसकिएको उल्लेख गरेका छन् । तर, त्यसअघि नै यो वार्तालाई स्थायी युद्धविराममा पुर्‍याउन अफगानिस्तानलाई आग्रह गरेका छन् ।

ब्लिन्केनले अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनको रणनीति उल्लेख गरेका छन् । उनले अफगानिस्तानमा शान्ति स्थापनाको लागि छलफल गर्न रुस, चीन, पाकिस्तान, इरान, भारत र अमेरिकाका विदेशमन्त्री र राष्ट्रसंघीय स्थायी प्रतिनिधिको बीचमा राष्ट्रसंघीय सम्मेलनको अवधारणा पनि प्रस्तुत गरेका छन् । त्यस्तै अमेरिकाले टर्कीलाई पनि उच्चस्तरीय वार्ताका लागि आग्रह गरेको उक्त पत्रमा उल्लेख छ ।

अमेरिकाले अहिले गरिएको प्रस्तावमा तालिबानलाई यसअघि भएको सम्झौताअनुसार अफगानिस्तानमा हिंसा रोक्न समय दिइने उल्लेख छ । त्यसका लागि अमेरिकाले ९० दिनको समय दिएको छ । अहिले नै अमेरिकी सेनाले अफगानिस्तान छाडे मुलुकमा हिंसा थप बढ्ने र अझै धेरै भूभाग तालिबानको नियन्त्रणमा आउने पत्रमा उल्लेख छ । ब्लिन्केनले पठाएको पत्रमा अफगानिस्तानमा सबै पक्षलाई मिलाउन हरसम्भव प्रयास गर्ने पनि उल्लेख छ ।

अमेरिकाका अर्का वरिष्ट कूटनीतिक अधिकारीले अफगानिस्तानको विषयमा अमेरिकाले सबै विकल्प खुला राखेको बताएका छन् । जसमा मे १ देखि आफ्ना सबै सैनिक फिर्ता गर्नेसम्मको विकल्प सामेल छन् ।

अफगानिस्तानको सरकारले गत सेप्टेम्बरबाट तालिबानसँग वार्ता सुरु गरेसँगै मुलुकमा हिंसात्मक आक्रमणमा उल्लेख्य वृद्धि भएको छ । ग्रामीण क्षेत्रमा सक्रिय रहेको तालिबानले पछिल्लो समय सहरमा आक्रमण गराउन सुरु गरेको भन्दै पश्चिमा मुलुकहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment