Comments Add Comment

काठमाडौं मेयर्स कपमा आर्मीको पहिलो जित

२४ फागुन, काठमाडौं । शाहब आलम र जितेन्द्र मुखियाको उत्कृष्ट बलिङ अनि सोमपाल कामीको उत्कृष्ट ब्याटिङको मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर्स कप २०७७ मा पहिलो जित हात पारेको छ ।

सोमपाल कामीले ८० रन जोडेपछि काठमाडौं मेयर ११ ले दिएको १५६ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । आर्मी पहिलो खेलमा एपीएफसंग १ विकेटले पराजित भएको थियो । उता पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको काठमाडौं  मेयर ११ को यो पहिलो हार हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२.१ ओभरमा अलआउट हुँदै १५५ रन जोड्यो । उसका लागि सौरभ खनालले सर्वाधिक ४२, सन्दीप रजालीले ३७, हरिशंकर शाहले १८, खड्ग बोहराले १९ रन जोडे भने सिद्धान्त लोहनी, कृष्ण कार्की र नारायण जोशी शून्यमा आउट भए ।

पहिलो विकेटका लागि हरिशंकर शाह र खड्ग बोहराले ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । त्यसपछि चार ओभरभित्र काठमाडौंले ४ विकेट गुमायो । यो चारै विकेट आर्मीका शाहाब आलमले लिए । आलमले ४ विकेट लिएपछि काठमाडौं ६५-४ को अवस्थामा पुगेको थियो ।

पाँचौ विकेटका लागि सन्दीप रजाली र सौरभ खनाल ६६ रनको साझेदारी गर्दै काठमाडौंको इनिङ्स उकासे । तर सौरभ ४२ रन बनाएर आउट भएपछि काठमाडौंले पाँचौ विकेट गुमायो । उनलाई कुशल मल्लले भीम सार्कीबाट क्याचआउट गराए ।

त्यसपछि जितेन्द्र मुखियाले काठमाडौंको लगातार दुई विकेट लिए । मुखियाले काठमाडौंका कृष्ण कार्की र नारायण जोशीलाई खाता खोल्न नदिई पभेलियन फर्काए ।

४१ औं ओभरको पहिलो बलमा सन्दीप रजाली आउट हुँदा काठमाडौंले आठौं विकेट गुमायो । आर्मीका जितेन्द्र मुखियाले रजालीलाई एलबीडब्लु धरापमा पारे । ४२ औं ओभरमा आर्मीका विक्रम सोबले काठमाडौंका विपिन खत्रीलाई कट एण्ड बोल्ड गरे ।

अन्तिम विकेटका रुपमा काठमाडौंका कप्तान सन्दीप १३ बनाएर आउट भए । उनलाई सोमपालले विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराए ।

बलिङतर्फ आर्मीका शाहब आलमले १० ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर ४ विकेट लिए भने जितेन्द्र मुखियाले १० ओभरमा ३ मेडन राख्दै ३८ रन खर्चेर ३ विकेट लिए ।

यस्तै सोमपाल कामी, बिक्रम सोब र कुशल मल्ले समान १ विकेट लिए । किफायती बलिङ गरेका कुशल मल्लले ९ ओभरमा ३ मेडन राख्दै १५ रन खर्चे । बिक्रम सोबले ६ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिए ।

सोमपाल कामी खेलेको म्यान अफ दि म्याच घोषित भए । आक्रामक ब्याटिङ गरेका सोमपालले बलिङमा १ विकेट लिएका थिए । उनले ६.१ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए ।

१५६ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको आर्मीका ओपनर सोमपालले आक्रामक ब्याटिङ गर्दै ८० रन बनाए । ५१ बल खेलेका उनले ९ चौका र ६ छक्का प्रहार गरे ।

अर्को छेउबाट निरन्तर विकेट जाँदा सोमपालले एक छेउबाट इनिङ्स सम्हालेका थिए । लोकेश बम १, भीम सार्की १६ र रोहित पौडेल शून्य मा आउट भएपछि आर्मीले ३६ रनमा ३ विकेट गुमाएको थियो । तर सोमपालले चौथो विकेटका लागि कुशल मल्लसंग ७२ रनको साझेदारी गरे ।

कुशल मल्ले २३ रन बनाए । कप्तान विनोद भण्डारीले अविजित २० रन जोडे । राजेश पुलामी ८ रनमा अविजित रहे । बलिङमा काठमाडौंका कप्तान सन्दीप लामिछाने र विपिन खत्रीले २-२ तथा अनिल खरेलले १ विकेट लिए । सन्दीपले ९ ओभरमा ७२ रन खर्चेका थिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछ । त्रिवि मैदानमा बागमती र एपीएफबीच खेल हुनेछ । मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment