२५ फागुन, पोखरा । सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पोखरामा ओली समूहका विद्यार्थीले दीपावली नै गरे । एमाले ब्यूँतिएको र सूर्य चिह्न पाएकोमा उनीहरुले खुसी मानेका हुन् ।
५ पुसमा संसद विघटनसँगै ओली र प्रचण्ड-माधव समूहमा विभाजित नेकपामा सूर्य चिह्न र पार्टीको आधिकारिकता कसले पाउँछ भन्ने चासो थियो । तर नेकपाको नाम विवादमा सर्वोच्चले एमाले ब्यूँताइदिएपछि ओली समूह बलियो रहेको गण्डकी प्रदेशमा धेरै नेता कार्यकर्ता खुसी देखिए । ‘किचकिच गरेर बस्नुभन्दा पूर्व एमाले नै ठीक छ भनेर धेरै कार्यकर्तामा उत्साह देखियो,’ ओली समूहका प्रदेश सभा सांसद कृष्ण थापाले भने, ‘सोमबारको निर्णयले पार्टी कार्यकर्तामा झन् उत्साह भर्नेछ, एकतालाई बल दिनेछ ।’
गण्डकी प्रदेशका मन्त्री र सांसद पनि खुसी देखिए । पूर्ववत अवस्थामा फर्किँदा कार्यकर्तामा ऊर्जा बढेको र सरकार पनि यथावतै रहने अर्थमन्त्री किरण गुरुङको दाबी छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ जना एमालेका सांसद छन् । त्यसमध्ये २६ जना ओली समूहकै छन् । राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गरेको छ । अब पनि त्यो कायमै रहने जनमोर्चाका प्रदेश सभा सांसद कृष्ण थापाले बताए । मनाङबाट स्वतन्त्र निर्वाचन जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले सरकारलाई समर्थन गर्ने बताएका छन् । यसरी हेर्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत जित्न पुग्ने ३१ सदस्य उनीसँग छन् ।
कांग्रेसका १५ जना, माओवादी केन्द्रका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद छन् ।
प्रदेश सरकारमा माओवादीका दुई मन्त्री छन् । सर्वोच्चको फैसलाअनुसार प्रचण्ड-माधव समूहमा रहेका नेताहरु पूर्व पार्टीमा फर्किने सोमबारको निर्णयप्रति प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान खुसी देखिएनन् ।
पूर्ववत पार्टीमा फर्किने निर्णय गरेर नेतृत्व चुकेको भन्दै उनले भने, ‘नेकपाको विवाद र सर्वोच्च अदालतको फैसलासम्म आएर अलग-अलग हुँदासम्म माइक्रो म्यानेजमेन्ट अर्कैले गर्यो । नेताहरु हाँडीबाट उछिट्टएिको मकै टिप्दै रमाए ।’
उनले अघि भने, ‘सोमबार माधव-प्रचण्ड समूहको स्थायी कमिटी बैठकले राजनीतिक निर्णय गर्न सक्नुपर्थ्यो, तर नेतृत्व चुक्यो । हामी जुन कित्तामा हो, त्यो कित्तामा लाग्नै पर्यो ।’ पार्टीमा कसले खेल्यो ? किन हामी यो अवस्थामा आइपुग्यौं नेताहरुले भनिदिनुपर्ने उनले बताए ।
चुमान जस्तै माओवादी केन्द्रका अधिकांश नेता कार्यकर्ता खुसी छैनन् । उनीहरुका अनुसार एकातिर पार्टी कसरी अगाडि बढ्छ भन्ने चिन्ता छ भने अर्कातिर प्रदेश सरकारमा अविश्वासको प्रस्ताव लैजान समेत नसक्ने अवस्था छ ।
प्रदेश सरकारमा कसरी प्रस्तुत हुने भन्ने अन्योलमै रहेको माओवादी सांसद रामजी बरालले बताए । सर्वोच्च अदालतको निर्णय अप्रत्यासित भएको भन्दै उनले भने, ‘संसद पुनर्स्थापना गरेको विषयलाई पनि अहिलेको फैसलाले धक्का दियो ।’
प्रदेश सभा सांसद दीपक कोइरालाले पार्टी हिजोकै अवस्थामा फर्किए पनि राजनीतिक कोर्स अलि फरक ढंगले अगाडि बढेको बताउँछन् । ‘अदालतको फैसलाले झन् अन्योल थपियो,’ कोइरालाले भने, ‘तर राजनीतिक रुपमा मुख्यमन्त्रीलाई समर्थन रहँदैन ।’
सरकार ढुक्कै छ : मुख्यमन्त्री गुरुङ

मुख्यमन्त्री गुरुङ अब सर्वोच्चको आदेशलाई स्वीकार गरेर पार्टी र सरकार निर्माणमा जुट्नुको विकल्प नभएको बताउँछन् । उनले सरकारले विश्वासको मत लिनुपर्ने स्थिति नआउनेमा विश्वस्त रहेको बताए । ‘अप्ठेरो परिस्थिति आउँदैन भन्नेमा गण्डकी प्रदेश सरकार ढुक्कै छ,’ उनले भने ।
साविक एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाको भोट पाएर गुरुङ मुख्यमन्त्री भएका थिए । माओवादी र जनमोर्चाले समर्थन फिर्ता लिएमा भने गुरुङले विश्वासको मत लिनुपर्ने हुन्छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अबको सरकार पनि एमाले र माओवादी केन्द्रकै बन्नुपर्ने धारणा सार्वजनिक गरिसकेकाले मुख्यमन्त्री गुरुङ अप्ठेरोस्थिति नआउनेमा ढुक्क देखिन्छन् ।
‘राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै समर्थन गरेको छ र प्रतिवद्धता पनि जनाइरहेको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अबको सरकार पनि माओवादी र एमालेकै बन्नुपर्छ भनिसकेपछि समर्थन फिर्ता लिन्छ जस्तो मलाई लाग्दैन । अप्ठेरो परिस्थिति आउँदैन भन्नेमा गण्डकी प्रदेश सरकार ढुक्कै छ ।’
‘परिस्थितिले पार्टी विभाजन नै हुँदा पनि गण्डकी प्रदेश सरकारलाई समस्या हिजो पनि थिएन, अब पनि हुँदैन,’ उनले भने ।
सर्वोच्चको फैसलाले पूर्वएमाले कार्यकर्ता खुसी रहेको उनले बताए । ‘सूर्य चिह्न पाइन्न कि भन्ने थियो । पूर्व एमाले ब्युँतियो, सूर्य चिह्न पायो भन्दा सबै कार्यकर्ता खुसी भएका छन् । पार्टीमा किचलो सधैं भइराख्यो भन्ने चिन्ता थियो । अहिले कार्यकर्ताको हड्डी हाँस्या छ,’ उनले भने ।
गण्डकीमा पूर्व एमाले र माओवादीका सांसद
पूर्व एमाले सांसद 
पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन, धनञ्जय दवाडी, पुष्पा केसी भण्डारी, मनबहादुर गुरुङ, मिना गुरुङ, सृजना शर्मा, इन्द्रधारा डादु विष्ट, कृष्णबहादुर थापा, चन्द्रमोहन गौचन, जनकलाल श्रेष्ठ, इन्द्रलाल सापकोटा, जुनादेवी नेपाली, प्रभा कोइराला, महेन्द्रबहादुर थकाली, मित्रकुमारी गुरुङ, मायानाथ अधिकारी, मिनप्रसाद गुरुङ, मोहनप्रसाद रेग्मी, राजीव पहारी, रामबहादुर गुरुङ, रोशनबहादुर गाहा थापा, लक्ष्मी सुनार, विकास लम्साल, सावित्रा राना ।
माओवादी सांसद
हरिबहादुर चुमान, लेखबहादुर थापा, नेत्रनाथ अधिकारी, रामजी बराल, दीपक कोइराला, आशा कोइराला, गायत्री गुरुङ, दीपक थापा, दिलमाया रोका, मधुमाया अधिकारी, चन्द्रबहादुर बुढा, विनोद केसी ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4